कोभिड–१९ को संक्रमणकाबीच भोलीदेखि मुलुकभर कक्षा १२ को परीक्षा हुँदैछ । कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीले गर्दा रोकिएको थियो ।



सबै विद्यालयमा उत्तर पुस्तिका पु¥याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्ड अनुसारको परीक्षा मापदण्ड तयार गर्ने सहित सम्पूर्ण तयारी पूरा भएको बोर्डका सदस्य सचिब दुर्गा प्रसाद अर्यालले बताउनुभयो ।
बोर्डका अनुसार बिहान ८ बजे देखि साढे ९ बजे सम्म डेढ घण्टा मात्रै हुने परीक्षा विद्यार्थीको चाहना बमोजिम होम सेन्टरमै सञ्चालन हुनेछ ।
बोर्डका अनुसार कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । यस्तै कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ ।
कूल पूर्णाङ्कमध्ये ४० प्रतिशत मात्रै लिखित परीक्षा हुनेछ । कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने बताइएको छ ।
बोर्डका अनुसार प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क रहने छ । डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गर्ने बोर्डले जनाएको छ ।
परीक्षासम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालय लगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ ।
४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा १६ गते सकिनेछ ।

























