२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

बंगलादेशसँग आज भिड्दै नेपाल

काठमाडौं, २ मंसिर ।  नेपाली राष्ट्रिय फुटबल टिमले आज नेपाली समयअनुसार साँझ पौने ५ बजे बंगालदेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ। बंगबन्धु अन्तर्राष्ट्रिय खेल मैदानमा दुई टिमबीच खेल हुँदैछ। 

नेपाली टिम औपचारिक रुपमा मैदानमा उत्रिन लागेको करिब एक वर्षपछि हो। अन्तर्राष्ट्रिय टिमसँग सिनियर टिमले प्रतिस्पर्धा नगरेको करिब एक वर्ष हुन लागेको छ। २०१९ को सेप्टेम्बर १० मा चाइनिज ताइपेइलाई २–० ले हराएको नेपालले त्यसयताका चार खेलमा जित निकाल्न सकेको छैन। पछिल्ला पाँच ५ खेलमा ११ गोल खाएको नेपालले मात्र चाइनिज ताइपेइलाई हराएको छ। ५ खेलमा नेपालले मात्र २ गोल गर्न सकेको थियो। नेपालले चाइनिज ताइपेइलाई २–० ले हराउँदा मात्र गोल गर्न सकेको हो।  

ढाकाका रहेको नेपाली टोली एक साताको क्वारेन्टाइन बसाइपछि मैदान उत्रिन लागेको हो। यस अवधिमा नेपालले आफ्नो अभ्यास कायमै राखेको थियो। त्यस्तै बंगलादेशसँगै दोस्रो मैत्रीपूर्ण खेल भने मंगलबार पौने ५ बजे तय हुनेछ।  

पछिल्लो पटक नेपालले विश्वकप छनोट अन्तरगत कुवेतसँग भुटानमा २०१९ को नोभेम्बर १९ मा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल ०–१ गोलअन्तरले पराजित भएको थियो। त्यसपछि उमेर समूहमा नेपालले घरेलु मैदानमा भएको सागमा गत डिसेम्बरमा प्रतिस्पर्धा गरेपछि कोरोना महामारीको चपेटामा परेको नेपाली फुटबल लामो समय मैदानबाहिर थियो। 

बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलमा सहभागी हुन लागेको नेपालको मुख्य ध्येय खेलाडीको फिटनेसमै हुने छ। त्यसो त २०२२ को कतार विश्वकप छनोट चरणका खेल बाँकी नै भएकाले त्यसमा आफूलाई तयारी गर्नु नेपाली फुटबलका लागि तत्कालीन आवश्यकता हो। 

मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा नेपाली टिम हेरिरहेका प्रशिक्षक बालगोपाल महर्जन टिमको फिटनेस नै अहिलेको प्राथमिकता रहेको बताए। भन्छन्, ‘हामी लामो समयपछि मैदानमा उत्रिँदा स्वाभाविक रुपमा टिमको फिटनेसलाई ध्यान दिन जरुरी छ सोहीअनुसार तयारी गरेका छौं। साथै उनले विश्वकप छनोटको तयारीका लागि पनि बंगलादेश विरुद्धको प्रदर्शन महत्वपूर्ण हुने बताए।

संक्रमणबीच कस्तो छ तयारी ?

लामो समयदेखि अभ्यासका लागि सरकारको स्वीकृति पर्खिएर बसेको नेपाली फुटबल टिमले १३ कात्तिकदेखि मात्र दशरथ रंगशालामा प्रशिक्षण गर्न मौका पाएका थिए।

एन्फाले प्रारम्भिक चरणमा ३४ खेलाडी अभ्यासका लागि बोलाए पनि कोरोना महामारीको बढ्दो ग्राफले खेलाडी पनि अछुतो रहेनन्। यो बीचमा सात सिनियर खेलाडी संक्रमित भए। जसले गर्दा नयाँ खेलाडी मैत्रीपूर्ण खेलका लागि तयार गरिएको छ।

प्रशिक्षक महर्जन भन्छन्, ‘केही  अनुभव खेलाडी संक्रमित हुँदा स्वाभाविक रुपमा समस्या भएको छ। तर युवा खेलाडीका लागि अवसरका रुपमा समेत यो भ्रमणलाई लिनुपर्छ। यो पटक टिममा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र छिरिङ गुरुङ राष्ट्रिय टोलीमा छनोट भएका छन्। उनीहरुले ढाकामा डेब्युको अवसर कति पाउँछन् त्यो भने समयले बताउनेछ। 

फिफा वरियतामा नेपाल १७० तथा बंगलादेश १८७औँ स्थानमा छन्। त्यसैले वरीयता सुधारका लागि समेत प्रतियोगिता महत्वपूर्ण हुनेछ। बंगलादेशले पछिल्लो पटक २०१८ को सेप्टेम्बर ८ मा साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो।

जतिबेला नेपाल बंगलादेशलाई २–० ले हराउन सफल भएको थियो। तर समग्रमा भने बंगलादेश नेपालसँग हाबी हुँदै आएको छ। १९ पटकको आमनेसामनेमा बंगलादेशले १२ खेलमा नेपाललाई पराजित गरेको छ। नेपालले ६ खेलमा जित निकाल्दा एक खेल बराबरी भएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।