काठमाडौँ, २ मंसिर । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाँड तिहारको मुख्य दिन सोमबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।



यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन हिजो भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिएका छन् ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर–मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
पाँच वर्षपछि खुल्यो बालगोपालेश्वर
दिदीबहिनी नहुनेका लागि सोमबार काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि तिहारमा पहिलो पटक खुलेको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । पाँच वर्षपछि खुलेको बालगोपालेश्वरमा भक्तजनको भीड लागेको थियो ।
यस वर्ष मङ्गलबार विहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदैछन् । यही मङ्सिर २ गते पनि भाइटीका (किजापूजा) का लागि सरकारले सार्वजनिक विदा दिएको छ । बालगोपालेश्वरी मङ्गलबार पनि विहान ५ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म खुल्ने जनाइएको छ । कोरोना महामारीका कारण देशभर विगत वर्षमा जसरी भाइटीका लगाउन भने मानिसलाई बाधा पुगेको थियो । रासस

























