भदौ ७ गते । डडेल्धुराको अजयमेरु गाउपालिका वडा न २ मा पर्सा जिल्लाबाट आएका व्यक्तिमा कोरोना पोजेटिभ आएपछि गाउ भरि सन्त्रास फैलिएको छ ।
पर्सा जिल्लामा शिक्षक पेशामा कार्यरत एक जना अजयमेरु गाउपालिका वडा नं. २का पुरुष घर आएको केही दिनमा उनको रिर्पोट पोजेटिभ आएको खबर आएपछि गाउभरि कोरोनाको सन्त्रास फैलिएको हो ।



पर्सा जिल्लामा कोरोना परिक्षणको लागि स्वाब दिएर घर आएका ति व्यक्तिमा कोरोना भएको खबर जिल्ला प्रहरी कार्यालयमार्फत जानकारीमा आएको थियो । प्रहरीलाई दुई दिन अघि मात्रै घर आएको बताएपनि उनी केही दिन अघि नै घर आएको स्थानीयहरुले बताएका छन् ।
अहिले अजयमेरु गाउपालिका वडा नं. २ मा रहेको उनको पुरै गाउलाई सिल गरि सवैको कोरोना परिक्षण गर्ने तयारी भईरहेको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए । कोरोना संक्रमित घर आएदेखि कुन कुन ठाउमा गएका थिए त्यसको टे«सिङ भईरहेको र उनी बस्ने गाउलाई सिल गरि कोरोना परिक्षण गर्ने तयारी भईरहेको समेत प्रहरी प्रमुख न्यौपानेले बताए ।
पर्सा जिल्लाका कोरोना परिक्षणका लागि स्वाव दिएका ति व्यक्ति रिर्पोट नआउदै घर आएको र घरमा पनि उनले विभिन्न सामाजिक कार्यहरुमा सहभागिता जनाएको देखिन्छ । उनी उपभोक्ता समिति निर्माणको भेलादेखी अन्य सामाजिक कार्यमा समेत सक्रिय रहेकोले गाउ नै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।

























