काठमाडौंः माघेसंक्रान्तिका अवसरमा डडेल्धुराको परशुरामधाममा आयोजना हुने पर्वमा सहभागी हुन परशुरामका मेयर भरत जोशीले कठमाण्डौं महा नगरपालिकाका मेयर वालेन शाह लाई निम्ता पत्र पठाएका छन् । शाह सहित सुदुरपश्चिम प्रदेशक सांसद र देशभरका पालिका प्रमुखलाई निम्तो दिइएको छ ।
डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई निमन्त्रणा गरेका हुन् ।
मकर संक्रान्ति पर्व परशुराम नगरपालिका वडा नं. ५ महाकालीनदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ ।
मेयर जोशीले सुदूरपश्चिम प्रदेशका सांसद र पालिबम प्रमुखलाई निमन्त्रणा पठाउँदै पर्वमा सहभागिताका लागि आग्रह गरेका हुन् । ‘यस पर्व मनाउन सहभागी भइदिनहुनुका साथै यहाँको धार्मिक, सांस्कृतिक पक्षको प्रचारप्रसार तथा संरक्षण र विकासमा योगदान गरिदिनहुन परशुराम नगरपालिकाकातर्फबाट हार्दिक निमन्त्रणा गर्दछु,’ पत्रमा लेखिएको छ ।
नेपालभारतको सीमामा रहेको श्यामा [महाकाली ] र ऐला [रंगुन] नदीको संगममा अवस्थित भृगुवंशी महर्षि जमदग्नी र रेणु पुत्रका भगवान परशुरामले तपस्या गरेको स्कन्द पुराणमा उल्लेख छ ।
स्कन्द पुराणका अनुसार परशुरामधाममा स्नानको ठूलो महत्व हुन्छ । महाकाली नदीमा स्नान गर्दा गंगा स्नानको समान पूण्य प्राप्त हुने पौरााणिक मान्यता रहेको र माघ स्नानको ठूलो महत्व छ ।
‘स्कन्द पुराणका अनुसार तीनै लोकमा अति नै पवित्र मानिएको धार्मिक स्थल परशुरामधाममा स्वागत गर्न तत्पर छु,’ मेयर जोशीले भने । उनका अनुसार परशुरामधाममा माघेसंक्रान्तिको तयारी तीव्र बनाइएको छ । माघेसंक्रान्तिका दिन परशुरामधाममा ठूलो संख्यामा भक्तालुको उपस्थिति हुने गरेको छ ।
नगरपालिका, स्थानीयवासी र सुरक्षाकर्मीहरुको सहयोगमा पर्व हुने स्थानको सरसफाइलगायतका काम भइरहेको मेयर जोशीले बताए ।