डडेल्धुराः डडेल्धुराको शहरी जनसंख्या ४.५७ प्रतिशत मात्र रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरणको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार राष्ट्रिय जनगणना २०७८ को जनसंख्यालाई मुख्य आधार मानी नेपालको ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण कार्य सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो।
यस प्रतिवेदन अनुसार नेपालमा शहरी, शहरोन्मुख र ग्रामीण श्रेणीमा क्रमशः २७.०७ प्रतिसत , ३९.७५ प्रतिसत र ३३.१९ प्रतिसत जनसंख्या बसोबास गर्छन्। विगतमा नगरपालिकाको जनसंख्यालाई शहरी जनसंख्याको रूपमा परिभाषित गरिँदै आएको थियोे, जुन ६६ प्रतिसत रहेको थियो।
नेपालको सबै स्थानीय तहका वडागत विश्लेषण गर्दा शहरी, शहरोन्मुख र ग्रामीण श्रेणीमा क्रमशः ९६२, २०९६ र ३६८५ वडाहरु परेका छन्।
सोही वर्गीकरण अनुसार डडेल्धुरा जिल्लाका स्थानीय तहका वडाहरु हेर्दा अमरगढी नगरपालिका वडा नम्बर ५ मात्र शहरी श्रेणीमा परेको तथ्यांक कार्यालय, डडेल्धुराका प्रमुख तथ्यांक अधिकृत चन्द्रबहादुर पालले जानकारी दिए।
पालका अनुसार अमरगढी नगरपालिकाको वडा नम्बर ५ बाहेक जिल्लाका बाँकी सबै ५१ वटा वडाहरू ग्रामीण श्रेणीमा परेका छन्। यसरी हेर्दा डडेल्धुरा जिल्लाको शहरी जनसंख्या ४.५७ प्रतिशत र ग्रामीण जनसंख्या ९५.४३ प्रतिशत रहेको देखिने उनी बताउँछन्। अन्य कुनै पनि वडा शहरोन्मुख नदेखिएको उनको भनाइ छ।
नेपालको जनसंख्या ः
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागको १२ औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रारम्भिक विवरण अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको जनाएको छ ।
प्रारम्भिक विवरण अनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम या जम्मा ०.९३ प्रतिशत पुगेको छ । अघिल्लो जनगणनामा नेपालमा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेको थियो। तथ्यांक विभागका अनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको छ । अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ ।