२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

दशैँ बिदामा घुम्ने डडेल्धुराका पर्यटकीय गन्तव्य

डडेल्धुरा– सुदूरपश्चिमको सात पहाडी जिल्लाको केन्द्रको रुपमा रहेको डडेल्धुरा निकै सुन्दर अनि रमणिय रहेकोछ । तराईका मानिसहरूलाई गर्मी छल्ने उपयुक्त गन्त्व्यका रूपमा पनि डडेल्धुरा चिनिन्छ ।

पछिल्लो समयमा डडेल्धुरा पर्यटकीय हवका रूपमा पनि विकसित हुँदै गएको छ । उग्रतारा मन्दिर, अमरगढी किल्ला, घटाल थान, रावलतोली गुफा, अमरगढी पार्क, अजयमेरु कोट, परशुराम धाम, आलिताल, भागेश्वर मन्दिर (धुरा) लगायतका दर्जन बढी पर्यटकीय स्थल रहेका छन् ।

दशैँ सुरु भइसकेको छ । लगत्तै तिहार पनि आउँदै छ । दशैँतिहार बिदामा घुम्न जानका लागि उपयुक्त ठाउँ खोजिरहनु भएको छ भने सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा रहेका केही गन्तव्यका बारेमा यहाँ जानकारी गराउँदैछौँ ।

Nepal Travel Blog: Dadeldhura Nepal

उग्रतारा भगवती मन्दिरः

उग्रतारा भगवती मन्दिरलाई सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ मानिन्छ । यो मन्दिर डडेल्धुरा सदरमुकाम बागजारदेखि करिब पाँच किलोमिटर पश्चिममा छ । उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । डडेल्धुराको अमरगढी नगरपालिका–८ मा पर्ने यो मन्दिर सदरमुकामबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमतर्फ विशाल, रमणीय फाँटमा छ ।

Ugratara Bhagawati Temple Nepal

सुन्दर फाँटमा अवस्थित उग्रतारा देवीको दर्शन गर्न भक्तजनले अमरगढी–८ को टाटेसिलिङबाट उक्लेर जानुपर्छ । अहिले उग्रतारा मन्दिरसम्म पुग्न अमरगढी–८ को डकले र रातागौनबाट कालोपत्रे सडक पनि निर्माण गरिएको छ । सडक मार्गबाट यहाँ पुग्न सकिन्छ । यहाँ दिनहुँ भक्तजन पूजा गर्न आउँछन् । उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुख प्राप्ति हुने, मनोकामना पूरा हुने जनविश्वास छ ।

देही जातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गर्दछन् ।

डोटी घटाल
डडेल्धुराको अमरगढी नगरपालिका– २ र ३ मा पर्ने डोटी घटाल प्राकृतिक सौन्दर्यको खानी हो । चारैतिर डाँडा, बीचमा समथर खेतीयोग्य उर्बर भूमिले यो क्षेत्रमा घुम्न आउने जोकसैको मन लोभिन्छ । बीचमा मैदान, चारैतिर महाभारत वनक्षेत्र, महाभारत वनक्षेत्रबाट बगेर आएको डोटी खोलाको कलकल बग्ने त्यो चिसो पानीले जो कसैको मनलाई आफूतिर खिच्छ ।

 

महाभारत वनक्षेत्रबाट सेताम्मे हिमाल देखिन्छ । डडेल्धुरा सदरमुकाम पुग्न गाडीमा १० देखि १५ मिनेट लाग्ने गर्छन् ।

घटालथान

डडेल्धुरा पुग्ने हिन्दु धर्मावलम्बीहरूका लागि ‘घटालथान’ आस्थाको धरोहरका रूपमा रहेको छ भने अरूहरूलाई मनमोहक दृश्यावलोकन गर्ने तथा ऐतिहासिक अध्ययनस्थलका रूपमा रहेको छ । सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्ति पीठमध्येको एक हो ‘घटालथान’ ।

अमरगढी नगरपालिका–३ घटाल क्षेत्रमा रहेको घटालथान बाबा मन्दिर बुढीघटालका नामले पनि प्रसिद्ध यो क्षेत्रको मुख्य धार्मिक शक्तिपीठका रूपमा लिइन्छ ।

जिल्ला सदरमुकामबाट घटालथान पुग्न एक घण्टा पैदल यात्रा तय गर्नुपर्छ । सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो बागबजार–आइतबजार–घटाल मन्दिर हो । घटालथानसँगै पश्चिमतर्फ प्यागोडा शैलीमा बनेको असिग्राम मन्दिर पनि रहेको छ । घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविस्वास रहँदै आएको छ ।

अजयमेरुकोट

डडेल्धुराको अजयमेरु गाउँपालिका–२ मा अवस्थित छ अजयमेरुकोट । बाइसे–चौबीसे राज्यअन्तर्गत डोटेली राज्यको राजधानी रहेको अजयमेरुकोटमा तत्कालीन राजा नागी मल्लले राज्य सञ्चालन गरेका थिए । आधुनिक सभ्यताको उद्गमस्थलको केन्द्र भनेरसमेत अजयमेरुकोटलाई चिन्ने गरिन्छ ।

प्राचिन डोटी राज्यको राजधानी अजयमेरुकोटको हालको अवस्था || Ajaymerukot ...

संरक्षणको अभावमा दरबारका भग्नावशेष, दरबार क्षेत्रबाट झन्डै चार किलोमिटरको गढीका नदीमा रानी नुहाउन जाने गुफा, तत्कालीन समयका अद्भूत कलाकृति भएका ढुंगादेखि थुप्रै ऐतिहासिक स्तम्भहरू जीर्ण बन्दै गएपछि अजयमेरुकोटको महत्त्व संकटमा पर्दै गएको हो । अजयमेरुकोटको १३औं शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको जानकारहरू बताउँछन् ।

रसिंह थापाले निर्माण गरेको अमरगढी किल्लादेखि सात किलोमिटर पश्चिममा रहेको अजयमेरुकोटमा डोटेली राजाहरूले समेत चार दशकसम्म शासन गरेका थिए ।

परम्परागत कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको इतिहास हराउँदैै गइरहेको स्थानीयवासी, वुद्धिजीवी र इतिहासका जानकारको भनाइ छ । अजयमेरुकोट जिल्ला सदरमुकामबाट दुई घण्टाको पैदल दूरीमा पुग्न सकिन्छ ।

परशुराम धाम

परशुराम धाम सुदूरपश्चिमकै पवित्र तीर्थस्थल ‘परशुराम धाम’ हो । यो डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा पर्छ । श्यामा महाकाली र एला रंगुन नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जमदग्नि र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरूमा वर्णन गरिएको छ ।

Parsurashuram Dham: Nepal’s holiest western frontier shrine – OnlineKhabar

एला र श्यामाको संगममा जमदग्नि पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख छ । हैयेय वंशी क्षत्रीहरूले पिता जमदग्निको हत्या गरी कामधेनु गाई अपहरण गरेको र आततायी क्षत्रीयहरूको अत्याचार कम गर्न क्षत्रीय विनाश गरेको २१ पटक पृथ्वीलाई क्षत्रीविहीन गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ । परशुरामधाम डडेल्धुराको सदरमुकामदेखि एक सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दूरीमा सडक मार्गबाट पुग्न सकिन्छ ।

अमरगढी किल्ला

सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्रबिन्दुमा रहेको डडेल्धुरा सदरमुकाम अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित छ ऐतिहासिक अमरगढी किल्ला । समुद्री सतहबाट यस किल्लाको उचाइ लगभग ६ हजार पाँच सय फिट छ ।

बडाकाजी अमरसिंह थापाद्वारा निर्मित यस किल्लामा ठूलठूला ढुंगा प्रयोग गरिएकाले किल्ला निकै कलात्मक देखिन्छ । पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए । रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सिमाना कुमाउ गढवालसम्म पुगेको थियो ।

अमरगढीका पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार संरचना निर्माण

एकीकरणको अभियानका बेला ३१ भदौ १८४७ मा सेती नदीको नारिदाङ भन्ने स्थानमा गोरखाली फौज र डोटेली फौजबीच घमासान युद्ध भयो । डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए ।

तिनै अमरसिंह थापाले आफू नियुक्त भएपछि यस क्षेत्रको संरक्षण तथा महाकालीपारि पश्चिम काँगडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएका थिए । त्यसैले यो ‘अमरगढी किल्ला’को रूपमा परिचित छ । १८४७ सालमा निर्माण भएको यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो ।

बडाकाजी अमरससिंह थापाद्वारा निर्मित यो किल्ला विशाल ढुंगाले कलात्मक तरिकाले बनाइएको छ । किल्लाभित्र युद्ध गर्नका लागि सैनिकहरूका लागि २२ वटा गुफाहरू बनाइएको छ ।

आलिताल

आलिताल ताल डडेल्धुराको भित्री मधेस आलिताल गाउँपालिका–३ मा अवस्थित छ । समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा छ । एक हजार १७५ मिटर लम्बाइ तथा करिब चार सय मिटर चौडाइ रहेको सुन्दर ताललाई चुरेका डाँडाले घेरेको छ ।

अालिताल ! Alitall Dadeldhura - YouTube

यस तालको परिपरि हरियाली वन छ । आलितालमा डुंगा सन्चालनमा छ । डुंगा सन्चालनमा आएसँगै आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । डडेल्धुरा सदरमुकामबाट यो तालसम्म पुग्न गाडीमा करिब तीनदेखि चार घण्टा लाग्छ ।

भागेश्वर मन्दिर
भागेश्वर लाई शिवजीका ‘फुटलिङ्ग’ मानिन्छन् । यो क्षेत्र डडेल्धुराको भागेश्वर गाउपालिकाको साविको रुपाल गा।वि।स। मा रहेको छ । समुद्री सतहदेखि २००२ मिटर अग्लो शिखरमा छ । यस धुराको पश्चिममा रुपालगाउँ, पश्चिम उत्तरमा वगरकोट गाउँ पूर्वमा गाङखेतगाउँ क्षेत्र र दक्षिणमा शीर्षगाउँ रहेको छन् । २२ गाउँबाट धुपपोखल पुजासामग्री, उत्पादित खाद्यबस्तु आएर भागेश्वरको पूजाआजा गर्ने चलन रहेको छ ।

भागेश्वर गाँउपालिकामा रहेको प्रसिद्ध  भागेश्वर मन्दिर (तस्विर ः दिपक राज भट्ट )

२२ गाउँको ढुङ्गा, पाथर, काठ, नगद जिन्सी र मिस्त्री सहितका बस्तु ल्याएर भागेश्वरको मन्दिर निर्माण गरिएको किबदन्ती छ । पहिलो भागेश्वर देवताकोमा २२ वटा देउरो जाने चलन भएपनि अहिले आएर ग्वानी, डुङ्गरी, सिराड, रुपाल, बगरकोटबाट मात्रै देउरो जान्छ ।
भागेश्वरसँग पासो, कैलपाल, कनवेताल हुन्छन् । पासो देवता भागेश्वरको प्रमुख द्वारपाल हो । भागेश्वरमा चार पटक श्रावणपुर्णीमा, कार्तिक शुल्क बैकुण्ठचर्तुदशी, माघ शुल्कपुर्णिमा, बैशाख शुल्कपुर्णिमा पुजाआजा गर्ने प्रचलन भएपनि अहिले आएर दुई पटक पूजिन्छन् ।
‘श्रावण शुक्लपूर्णामा तथा रक्षावन्धनका दिन दिउँसो पूजिन्छन र कार्तिक शुक्लवैकुण्ठचर्तुदशीका दिन राती पूजिन्छन् ।
यहाँ कश्यप गोत्रीय चटौत ब्राह्मणबाट पूजापाठ रुद्री लगाउँने गरिन्छ भने जोशी ब्राह्मणबाट सबै कुराको व्यवस्थापन गर्ने गरिन्छ । चिपुर मणको विष्ट भागेश्वरको द्वार ९ढोका० मा ‘नाङ्गो खुकुरी’ लिएर उभिने चलन हो । भागेश्वरको पूजामा आएको धुप, पोखल रुपालको मडै (क्षेत्रीजाति) बाट जम्मा गर्ने व्यवस्थापन गर्ने गरिन्छ ।
गर्भवती भएकी श्रीमतीमा स्वास्थ्यमा समस्या आएपछि राजा नाग मल्ल भागेश्वरको शरणमा आएर ‘फुटलिङ्ग’मा छातामा छत बनाएर मन्दिर बनाउन बनाएका थिए । तर त्यो सबै चोरिएको छन् । ‘शिवको साक्षात्त फुटलिङ्ग यही भएको हुदाँ आउने दर्शन गर्न आउने सबैलाई मनोकामना पुरा हुन्छ ।’ डडेल्धुरा जिल्ला सदरमुकाम बाट १३ किलोमिटर दुरी मा पालिका केन्द्र बगरकोट पुगिन्छ भने त्यहा बाट १२ किमि कच्चि सडक भएर जाल छिण पुगिन्छ त्यहा बाट १ घण्टा २० मिनेटको पैदल बाटो भएर भागेश्वर मन्दिर पुग्न सकिन्छ ।

dadeldhura google map – Search (bing.com)

आस्थाको धरोहर भागेश्वर मन्दिर (धुरा) ,जहाँ जान्छन २२ देउरा – खबरदारी न्युज (khabardarinews.com)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।