डडेल्धुराः डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसले वार्षिकोत्सव मनाएको छ । स्थापना भएको २८ वर्षपछि डडेल्धुरा बहुमुखी क्याम्पसले वार्षिकोत्सव मनाएको छ । वि.सं.२०५२ साल भदौ २० गते स्थापना भएको क्याम्पसले पहिलो पटक विभिन्न कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव कार्यक्रममा प्रदेशसभा सदस्य सरस्वती खड्का, खगराज भट्ट लगायतको सहभागिता रहेको थियो ।



कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले डडेल्धुरा बहुमुखी क्याम्पसले दक्ष जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताए । ‘आगामी दिनमा यस क्याम्पसले उत्पादन गरेका विद्यार्थीहरु देशका हरेक कुनामा नाम राख्न सक्ने हुनेछन् भन्ने विश्वास लिएको छु,’ मुख्यमन्त्री शाहले भने । उनले क्याम्पसको पूर्वाधार विकास लगायतका क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । क्याम्पस प्रमुख गंगादत्त उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका बिजेतालाई पुरस्कार पनि वितरण गरिएको छ ।
डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियू सभापति दुर्गा भट्टका अनुसार क्याम्पसमा २० वर्षभन्दा बढी सेवा गरेका शिक्षक र कर्मचारीलाई पनि सम्मान गरिएको छ । यस्तै जिल्लामा शान्ति सुरक्षा कायम गर्न र लागूपदार्थ नियन्त्रणमा महत्वपूर्ण भूमीका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायक उपरीक्षक मनोहरप्रसाद भट्टलाई पनि सम्मान गरिएको छ ।

























