सुदुरको संस्कृती गौरा



डडेल्धुराः सुदूरपश्चिममा मनाइने गौरा पर्वको आज तेस्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्तयाएका छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा “ठूली गौरा” भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् ।
ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । आज अमुक्ताभरण सप्तमीका दिन ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको छ ।
गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।
यसका साथै साँझको समयमा ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आजको गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् ।
गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ । गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

यो पनि पढौः
सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा – खबरदारी न्युज (khabardarinews.com)

























