राति एक बजे शौचालय जान निस्किएका कैलालीको कैलारी गाँउपालिका–५ जमनीपुरका ६१ वर्षीय मान बहादुर चौधरीलाई सर्पले टोक्यो । सर्पको टोकाईपछि परिवारजनले एम्बुलेन्सको खोजी गरेनन । न त अस्पताल लगे । उनीहरुले गुरुवाको खोजी गरे ।
धनगढीबाट आफन्तहरुले चौधरीलाई अस्पताल ल्याउन आग्रह गरे । जमनीपुरबाट २० किमीको दूरीमा मसुरियाको बडैपुरमा सर्पदंश उपचार केन्द्र र सोही हाराहारीमा सेती प्रादेशिक अस्पताल छ ।



तर परिवारजन भने नदी पार गरेर उपचारका लागि सर्पदंश उपचार केन्द्र र सेती प्रादेशिक अस्पताल लैजान तयार भएनन । राति नै परिवारजनले गुरुवा बोलाए । चौधरीको रातिदेखि नै झारफुक शुरु भयो ।
चौधरीलाई सञ्चो हुनुको साटो उनलाई बीषको असरले च्याप्दै लग्यो । र, झारफुककै क्रममा बिहान सवा ९ बजे मृत्यु भयो ।
जमनीपुरबाट हालसम्म सर्पले टोकेका कसैलाई पनि उपचारका लागि अस्पताल नलगिएको एक जना स्थानीय बासिन्दाले बताए । सर्पले टोकेको व्यक्तिलाई नदी पार गरेर अन्यत्र लैजादा मृत्य हुने जमनीपुरका बासिन्दामा अन्धविश्वास छ । जमनीपुरबाट धनगढी ल्याउन नदी पार गर्नुपर्छ ।
झारफुकबाटै सर्पको टोकाईको बीष झार्ने विश्वासमा परेर चौधरीको मृत्यु भएको स्थानीय बासिन्दाले पश्चिम टुडेलाई बताए ।

























