नेपाली महिलाहरुको महान पर्व हरितालिका देश विदेशमा अन्य वर्षहरुजस्तो धुमधामले नमनाई घरमा नै बसेर मनाउनुपर्ने भएको छ । विश्वभर फैलिएको कोरोना कहरका कारण यो वर्षको तीज पर्वमा धुमधामले तडकभडक गरेर मनाउन नपाइने भएको छ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको व्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रमसहित यो पर्व मनाउने गरिन्छ ।
भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । तीजको अघिल्लो दिन अर्थात द्वितीया तिथिमा दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ ।भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।
तर, पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ ।तीज पर्व दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो ।
तीजको व्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यस महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।
पर्वको अवसरमा यो वर्ष भने काठमाडौंको पशुपतिनाथको मन्दिरसहित मुलुकभरका शिवालयमा नजान प्रशासनले आग्रह गरेको छ । प्रशासनले यो वर्षको तीज घरमा नै बसेर मनाउन आग्रह गरेको छ ।