प्रकाश पार्की [डडेल्धुरा]- डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बेडुपानीका लोकराज भट्ट र टिकेश्वरीदेवी भट्ट दम्पत्तीलाई अहिले बधाईको ओइरो छ। लोकराजका छोरा उद्धवराज र छोरी पवित्राले एकैदिन लोकसेवामा नाम निकालेपछि भट्ट परिवारलाई बधाईको ओइरो आइरहेको छ।



लोकसेवा आयोग दिपायल कार्यालय राजपुर, डोटीले लिएको खरिदार पदको सबै परीक्षामा उत्तीर्ण भई २५ वर्षीय उद्धवराज र २२ वर्षीय पवित्रा सिफारिस भएका छन्। भट्ट दाजुबहिनी एकैदिन निजामती सेवामा प्रवेश गर्न सफल भएका हुन्।
उद्धवराजले खुला र पवित्राले महिलामा नाम निकाल्दै सिफारिस भए। लोकसेवा आयोग दिपायलले उद्धवलाई मालपोत कार्यालय अछाम र पवित्रालाई मालपोत कार्यालय डोटी खटाएको छ। लोकसेवा आयोगले शुक्रबार राति सिफारिस हुने उम्मेदारको अन्तिम नतिजा सार्वजनिक गरेको थियो। लोकसेवा आयोग दिपायलले खुलातर्फ पाँच र महिलातर्फ एकजनालाई सिफारिस गरेको छ।
भट्ट दाजुबहिनीलाई अहिले फोन उठाउन भ्याइनभ्याई छ। खरिदारमा सिफारिस भएदेखि नै उद्धवराज र पवित्रालाई फोन र फेसबुकमार्फत् बधाई आइरहेको छ। उनीहरूलाई सुदूरपश्चिम प्रदेशसभाका सदस्य डा तारा जोशी, नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीलगायतले पनि सामाजिक सञ्जालमार्फत् बधाई दिएका छन्।
सामान्य परिवारमा जन्मिएका भट्ट दाजुबहिनीले एकैदिन नाम निकालेपछि गाउँभर नै खुसीयाली छाएको छ। भट्टका आमाबुवा कृषि पेशामा आवद्ध छन्। पवित्राले पहिलो प्रयासमै नाम निकालेकी हुन् भने उद्धवराजले यसअघि दुईतीन पटक प्रयास गरेका थिए। उनीहरू मात्रै होइन, उनका सहोदर दाइ दीपेन्द्र पनि निजामती सेवामै छन्।

दीपेन्द्र २०७२ मा निजामती सेवामा प्रवेश गरेका थिए। दीपेन्द्र नापी कार्यालय डडेल्धुरामा अमिन पदमा कार्यरत छन्। लोकराज भट्टका चार सन्तान छन्। जसमा अब तीन सन्तान निजामती क्षेत्रमा प्रवेश गरेका छन्। जेठी छोरीको भने यसअघि नै बिहे भइसकेको छ।
उद्धवराजले लोकसेवामा नाम निकालेर सिफारिस हुँदा निकै खुसी लागेको बताए। ‘अहिले निकै खुसी छौँ। मेरोसँगै बहिनीको पनि नाम निस्कियो,’ उनले भने, ‘हामी दाजुबहिनीले मिहिनत गरेका थियौं, आज आएर सफल भयौं, बहिनी र म कम्बाइन स्टडी गरेका थियौं।’
उनले पाठ्यक्रम हेरेर मिहिनत पढेमा नाम निकाल्न सकिने बताए। बहिनी र आफ्नो यो सफलताको श्रेय दाइलाई जाने उद्धवराजको भनाइ छ। ‘हाम्रो सफलतामा दाइको पनि ठूलो हात छ,’ उनले युनिटीखबरसँग भने, ‘उहाँ (दीपेन्द्र) यसअघि नै निजामती सेवा प्रवेश गरिसकेकाले हामीलाई पढ्नमा उत्प्रेरित गरिराख्नुभयो। त्यसैले हामी मिहिनत गरिराख्यौं र नाम निकाल्न सफल भयौं।’
दाइ दीपेन्द्र पनि भाइ र बहिनीको मिहिनतपछि सफलतामा निकै खुसी छन्। उनले भाइ र बहिनीलाई जिल्ला सदरमुकाममा आफूसँगै राखेर लोकसेवाको तयारी गरेका थिए।
‘उनीहरूले बिहान, दिउँसो र बेलुका गरी दैनिक ७र८ घण्टा जति पढ्थेँ। भाइले सबै नोटहरू बनाएको थियो। बहिनीले त डेढ दुई महिना मात्रै पढेको हो। भाइले तयार पारेका नोटहरू बहिनीले पढ्यो,’ दीपेन्द्रले भने, ‘बाँकी कुराहरू केही मैले पनि सिकाएँ। म पनि अब प्रशासनतिर तयारी गर्दैछु।’
दीपेन्द्रले भाइ र बहिनीलाई जीवनमा कसैलाई चिटिङ्ग गरेर, मन दुखाएर, छलकपट गरेर प्राप्त हुने जतिसुकै ठूला उपलब्धिहरू भएपनि ग्रहण नगर्न सुझाव दिए।
उद्धवराजले महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीबाट आईएस्सी गरेका हुन्। पवित्रा जिल्ला सदरमुकामको भीमदत्त बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छिन्। रेडियो युनिटि बाट साभार

























