डडेल्धुरा- डडेल्धुरा अस्पतालाई सामाखुसी लायन्स क्लब काठमाडौंले उपलब्ध गराएको एसएनसीयू (नवजात शिशु विषेश स्याहार कक्ष) निर्माणको सामग्री हस्तान्तरण नहुँदै गायब भएको छ । करिब २० देखि २५ लाख रुपैयाँ पर्ने एसएनसीयू हस्तान्तरण नहुँदै गायब भएको हो ।
डडेल्धुरामा रहेको अमरगढी लायन्स क्लबको माग र केन्द्रीय लायन्सको पहलमा सामाखुशी लायन्स क्लब काठमाडौंले देशभरीका केही लायन्स क्लबहरूमार्फत अस्पतालहरूमा एसएनसीयू स्थापनाका लागि सामग्रीहरू उपलब्ध गराएको बुझिएको छ । तर, डडेल्धुरा अस्पतालका लागि उपलब्ध गराएको ११ कार्टुन सामग्री भने गायब गरिएको छ ।
अमरगढी लायन्स क्लब डडेल्धुराले सामग्री पोखराबाट ल्याएर डडेल्धुरा अस्पलातको परिसरभित्र पुर्याएको दाबी गर्दै आएको छ भने अस्पताल प्रशासन यो विषयमा जानकारी नै नभएको भन्दै आएको छ ।
निःस्वार्थ भावनाले स्थापना भएको लायन्स क्लबले करिब २५ लाख मूल्य पर्ने ११ कार्टुन सामग्री कसरी र कहाँ हरायो भन्ने एकिन अमरगढी लायन्स क्लबसँग पनि गर्न सकेको छैन । कुन मितिमा अस्पतालमा सामग्री पुर्याएको हो भन्ने नै एकिन नभएको र अस्पतालमा सामग्री पुर्याउँदा कुनै कर्मचारीलाई सामग्री जिम्मा लगाएको हो भन्ने प्रमाण लायन्स क्लब डडेल्धुरासँग पनि छैन् ।
समान ‘हेन्ड ओभर’ नगर्नु हाम्रो कमजोरी हो : लायन्स क्लब
तत्कालीन अमरगढी लायन्स क्लबका २०१९र२० का अध्यक्ष अमर पुन सामान ‘हेन्ड ओभर’ नगर्नु नै आफूहरूको कमजोरी भएको बताउँछन् । लायन्स क्लबसँग सामग्री बुझाएको प्रमाण नहुँदा डडेल्धुरा अस्पताल प्रशासनले सामग्रीका बारेमा जानकारी नभएको भन्दै अटेरी देखाएको उनको आरोप छ ।
उनले कास्की पोखराबाट सामाग्री बुझेर कुरियरमार्फत धनगढी पुर्याएको बताए । त्यसपछि धनगढीबाट डडेल्धुराका १ जना व्यापारीको सामान डडेल्धुरा ल्याउने मिनिट्रकमा सामान आएको र उक्त सामान मंसिर ४ गते डडेल्धुरा अस्पतालको परिसरमा ट्रकले अनलोड गरेको पुनको भनाइ छ । अस्पताल प्रशासनमा सामग्री पुगिसकेपछि अस्पतालबाट आफूलाई फोनसमेत आएको उनको दाबी छ ।
ट्रक चालक भन्छन् : मैले आफैँ समान उतारेको हुँ
लायन्स क्लबका एक कर्मचारीले मलाई फोन गरेको र उनको पनि पसलको समान ल्याउनु पर्ने भएकोले उनको सामग्रीसँगै अस्पतालमा बुझाएको सामग्री लिएर आफू डडेल्धुरा आएका ट्रक चालक पवन ठकुराठीले बताउँछन् ।
‘मैले अस्पताल प्रशासनभित्र सामग्री पुर्याएको हुँ । त्यहाँ पुर्यार त्यहाँका कर्मचारीलाई सामग्री बुझाएँ । ३ जनाले सामान उतारेका हुन् । उहाँहरूलाई सामान उतार्न मैले पनि सहयोग गरेको थिए,’ उनले भने, ‘अहिले चालु रहेको स्टोरमा सामग्री लगेका हुन् । म अस्पतालमा आएर सामग्री उतार्ने मान्छेलाई देखाउँन सक्छु ।’
एसएनसीयूका विषयमा मलाई जानकारी छैन : मेसु बिष्ट
अस्पतालमा सामग्री पुगे नपुगेको आफूलाई जानकारी नभएको अस्पतालका निमित्त मेसु जगदीश चन्द्र बिष्टले बताए । तत्कालीन अस्पतालका मेसु डा। जितेन्द्र कडेलको समयमा उक्त सामग्री अस्पतालमा पुगेको भन्ने कुरा आएको र आफू पछि आएकोले जानकारी नभएको उनले बताउँदै आएका छन् ।
ुसामग्री कसैले बुझेको या कसैले बुझाएको भन्ने प्रमाण छैन । अहिले नै सामान यहाँ छ त्यहाँ छ भन्न नसकिएको हो । उहाँहरूले कुनकुन मोडेल र कस्तो सामग्री थियो भनेर लिष्ट बुझाउनु भएको छ’ उनले भने, ‘बीचमा हाम्रो स्टोर किपर पनि चेन्ज भो । अहिले प्रयोग भएको सामग्री उहाँहरूसँग मेल खान्छ कि भनेर हामीहरू आन्तरिक रूपमा बुझ्दै छौँ ।’
सामाग्री बुझाएको ७ महिनापछि कुरा उठेकोमा समस्या भएको उनको भनाइ छ । ‘अस्पतालमा कार्यरत साथीहरूबाट बुझ्दा कसैलाई पनि जानकारी छैन भनेपछि आफूलाई जानकारी छ भन्न मिल्दैन । यदि, उपकरण हराएमा यो गम्भीर विषय हो सबैले खोज्नु पर्छ,’ उनले भने ।रेडियो अमरगढीबाट साभार