काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा हुने छलफल र बहस अमर्यादित भइरहेको बताएका छन् । आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको छलफलमा भाग लिंदै बिहीबार उनले प्रतिनिधिसभा आफ्नो आत्मसम्मान कायम गर्न चुकिरहेको बताएका हुन् ।



‘हामी पार्लियामेन्टको डिग्निटी राख्न चुकिरहेका त छैनौं जस्ता विषयमा हामीले छलफल गर्यौं । हामी नयाँ राजनीतिक दलको हिसाबमा चाहे हाम्रा पक्षबाट आएका हुन् वा अन्य राजनीतिक दलबाट आएका विषय हुन् हामी कहीं न कहीं लज्जित भएका छौं’ लामिछानेले भने ।
उनले आफ्नो भागको कमी–कमजोरीको जिम्मा लिने भन्दै अगाडि भने, ‘गत केही दिनमा भएका बहस अलिकति अमर्यादित भएकामा क्षमायाचना गर्न चाहन्छु ।’
रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट आउँदा भैंसी चढेर आएको कुरा उठेको भनेका थिए । त्यस विषयमा केहीबेर संसदमा विवाद पनि भएपछि रास्वपा सांसदले बोलेको भैंसी चढेर आएको भन्ने वाक्यांश संसदको रेकर्डबाट मेटाइएको थियो ।
रास्वपा सभापति लामिछानेले सदनमा भएको बहसले मुलुक र नागरिकको अनुहार परिवर्तन गर्न सक्नुपर्ने बताए । उनले संसदमा ७ प्रदेशका प्रमुख अस्पताल, मधेशका सामुदायिक विद्यालय र त्रिभुवन विमानस्थलबाट विदेश जाने नेपालीहरुको लाइभ सीसीटीभी फुटेज राख्न प्रस्ताव गरे । ‘हामीले गरेको नीति निर्माणले ५ वर्षअघि र ५ वर्षपछि के फरक पर्यो हेरौं’ उनले भने ।
त्यसो नगर्ने र संसदमा राँगा भैंसीकै विषयमा बहस चलाइरहने हो भने जनतामा निराशा छाउने र आउँदो चुनावमा मुख देखाउन नसकिने लामिछानेले बताए ।
‘आज सम्बन्धित मन्त्री र पहुँच भएको सांसदको जिल्लामा बजेट बाँडफाँटलाई हेर्ने हो भने, ५ वर्षको गतिविधि र यिनै बजेटका आधारमा फेरि जनताको माझमा भोट माग्न जाँदा नेपाली जनताले हामीलाई पत्याएर भोट दिन्छन् ?’ रविले भने, ‘नेपाली जनताले विवेक प्रयोग गरे भने दिने छैनन् ।’
‘जुन किसिमको बहस सम्मानित सदनमा केही दिनअघि भयो त्यो बहस निरन्तर हुने हो भने म चाहिं नेपाली जनतालाई अनुहार देखाउने हैसियतको रहने छैन’ उनले अगाडि भने, ‘त्यसकारण सदनमा हुने बहस अत्यन्त महत्वपूर्ण बनोस् । यहाँ हुने सरसल्लाह महत्वपूर्ण बनोस् ।’

























