२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

यसरी गरौं घरमा वृद्ध आमाबुबाको हेरचाह

जीवनको उत्तरार्द्ध बुढेसकाल सोचजस्तो सहज पक्कै हुँदैन । यसबेला एक्लोपनले धेरै सताउँछ । आफ्नो कुरा सुनिदिने, आफ्नो शरीरको हेरचाह गरिदिने व्यक्ति उनीहरुलाई आवश्यक हुन्छ  । अझ आफ्नो जीवनसाथी नभएका व्यक्तिलाई त झनै सकसपूर्ण हुन्छ बुढेसकाल ।

एक्लोपनले उनीहरुलाई डिप्रेसनको अवस्थामा समेत पुर्‍याउन सक्छ । यस्तो अवस्थामा वृद्धवृद्धाको स्याहारसुसारमा विशेष ख्याल गर्नुपर्छ ।

आफ्नो रुचिको काममा व्यस्त राख्ने

घरमा रहेका वृद्ध बुबाआमासँग कुरा गरेर उनीहरुको रुचिबारे जानकारी लिनुपर्छ । घरको कुनै काममा रुचि छ भने त्यो काम गर्न दिनुपर्छ । यसले एकातिर स्वास्थ्उ अवस्था ठीक राख्न सहयोग गर्छ भने व्यस्त पनि बनाउँछ । जसकारण मनमा अनावश्यक कुरा खेल्न पनि पाउँदैन ।

पढ्न सक्छन् भने रुचिको किताब ल्याएर दिन पनि सकिन्छ । त्यस्तै मन परेको गीत सुन्न र फिल्म हेर्ने वातावरण पनि मिलाइदिन सकिन्छ ।

नयाँ प्रविधिसँग घुलमिल

अहिले इन्टरनेट र सामाजिक सञ्जालका युग हो । परिवारका अरु सदस्य नयाँ प्रविधिमा अभ्यस्त हुने भएकाले घरका वृद्ध सदस्यलाई पनि यससँग घुलमिल गराउनुपर्छ । स्मार्टफोन चलाउन, कम्प्युटर चलाउन, स्मार्ट टीभी चलाउन सिकाउनुपर्छ ।

यसो गर्दा परिवारका अरु सदस्य काममा घरबाहिर रहेको बेला उनीहरुले आफूलाई मन लागेको विषयमा फोन, कम्प्युटर वा टीभीमा हेरेर मनोरञ्जन लिन सक्छन् । मोबाइलमै वृद्धवृद्धालाई मनपर्ने महाभारत, रामायण, भजन, पुराना गीत कसरी हेर्ने भनेर सिकाइदिनुपर्छ ।

निर्णयमा सहभागी गराउने

वृद्धवृद्ध परिवारको खम्बा नै हुन् । आफ्नो लामो जीवनयात्रामा उनीहरुले धेरै कुरा भोगेका, सिकेका हुन्छन् । घरमा हुने जुनसुकै काम वा कार्यक्रमको बारेमा वृद्धवृद्धालाई जानकारी दिएर सुझाव लिनुपर्छ । यसो गर्दा पारिवारिक अन्तरघुलन राम्रो भइरहन्छ ।

जस्तै, घरमा केही नयाँ समान किन्न लागेको छ भने यस्तो सामान एउटा किन्न लागेको छु है भनेर वृद्ध बुवाआमालाई सोध्ने, नयाँ काम सुरु गर्न लागेको छ भने यस्तो काम गर्न लागेको छु के गर्ने भनेर सरसल्लाह गर्ने गर्नुपर्छ । यस्तोमा केही गर्न नसके पनि मेरा छोराछोरीले सम्मान गरेको छ भन्ने अनुभूति गर्छन् । त्यस्तै घरमा कोही पाहुना आउने बेलामा चिनापर्ची गराउने, समय मिलाएर घुमाउन लाने गर्दा उनीहरुलाई खुसी मिल्छ ।

समय बिताउने

हिजोआजको जीवनशैली निकै व्यस्त हुन्छ । तर जतिसुकै व्यस्त भए पनि घरमा वृद्ध आमाबुवासँग दैनिक कम्तीमा १०-१५ मिनेट समय बिताउनुपर्छ । यसो गरेमा उनीहरुलाई एक्लो अनुभव हुँदैन र मनमा नानाथरी कुरा पनि खेल्ने अवस्था हुँदैन ।

स्वास्थ्य जाँच

बुढेसकाल लागिसेपछि कुनै न कुनै दीर्घरोगले छुन सक्छ । त्यसैले समय-समयमा उनीहरुको स्वास्थ्य जाँच गराइराख्ने, अस्पतालमा जाँदा पनि परिवारको कोही सदस्य साथै जाने गर्नुपर्छ ।

यसैगरी बिहान उठ्ने, व्यायाम, आराम, खानेकुरा, मनोरञ्जन गर्ने समयको तालिका बनाइदिन सके निकै प्रभावकारी हुन्छ ।

साथीसँग कुरा गराइदिने

बुढेसकालमा परिवारका साथै साथीको महत्व पनि उत्तिकै हुन्छ । त्यसैले उनीहरुका साथीसंगीलाई बेलाबेलामा घरमा बोलाएर भावना साटासाट गराइदिन सकिन्छ । उनीहरुलाई पनि साथीकहाँ घरमा बेलाबेलामा पठाइदिनु राम्रो हुन्छ ।

वृद्ध आमाहरुले आफ्ना मनका कुरा सजिलै बताउँछन् । तर वृद्ध उमेरका बुवाहरु त्यति नखुल्न सक्छन्, आफ्ना दुःख-पीडा मनमै गुम्साएर राख्ने स्वभाव हुन्छ । यस्तो अवस्थामा वृद्ध बुवाको मनको कुरा उनको साथीमार्फत बुझ्न पनि सकिन्छ ।

(सुवाल भक्तपुरस्थित सिद्धि आश्रमकी नर्सिङ इन्जार्च हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।