धनगढी – कञ्चनपुरमा एकै घरमा बस्दै आएका ८ जनालाई बेहोस बनाएर लुटपाट गरिएको छ । भीमदत्त नगरपालिका–४ गोबरैयाका खगेश्वरी प्वालीको घरमा ८ जनालाई बेहोस बनाएर लुटपाट गरिएको हो ।



उनको घरमा डेरामा बस्दै आएका २ जनाले पार्टी भन्दै विषालु पेय पदार्थ र लड्डु खुवाएर बेहोस बनाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताएका छन ।
उनको घरमा डेरा गरी बस्ने १८ वर्षीय सुवास गोतामे, २१ वर्षीया तुलसी डाँगा, सिर्जना धामी र पंकज विष्ट पनि बेहोस भेटिएका छन् । उनीहको उद्दार गरेर महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएको डीएसपी डाँगीले बताए ।
बिहिबार बिहान ढिलो सम्म नउठेपछि छिमेकीले घरमा हेर्दा सबै जनालाई बेहोस अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । लुटपाटमा संलग्न भारतीय नागरिकले नगद ४ हजार रुपैयाँ र १० आना बराबरको एउटा तिलहरी लुटेर लगेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


















