धनगढीः कञ्चनपुरमा बेवारिस अवस्थामा एक जनाको शव फेला परेको छ। आइतबार जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला नहर किनारमा बेवारिस अवस्थामा अन्दाजी ५५ वर्षीय गहु गोरो उचाई ५ दशमलव २ फिट भएको कालो पाईन्ट खैरो सर्ट कालो कलरको हाईनेक निलो कलरको आस्कोट टाउकोमा ढाका टोपी पातलो शरिर कपाल र दारी जुंगा फुलेको पुरष अचेत अवस्थामा फेला परेको हो।



तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। शवको पहिचान भएको छैन्। मृत्यु भएका पुरुषको शव सोही अस्पतालको शब गृहमा राखिएको छ। सुदूरपश्चिम प्रदेशमा पछिल्लो साढे तीन वर्षको अवधिमा फेला परेका ४६ शवको पहिचान नखुलेको पाइएको छ।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६।७७ मा ११ ओटा, २०७७।७८ मा १९ ओटा, २०७८।७९ मा १२ ओटा र चालु आवको अहिलेसम्म चार गरी ४६ शवको पहिचान नखुलेको पाइएको हो। सबैभन्दा बढी कञ्चनपुरमा २३ ओटा बेवारिस शव फेला परेका छन्। त्यस्तै कैलालीमा ७, डडेल्धुरामा ५, बैतडी र दार्चुलामा ३।३, डोटी र बझाङमा २।२ र अछाममा १ ओटा मात्र बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
कञ्चनपुरमा आर्थिक वर्ष २०७६।७७ मा ७ ओटा, २०७७।७८ मा ९ ओटा र २०७८।७९ मा ५ ओटा गरी तीन वर्षको अवधिमा २१ ओटा शव बेवारिसे अवस्थामा फेला परेका हुन्। कैलालीमा पनि आर्थिक वर्ष २०७६।७७ मा १ ओटा, २०७७।७८ मा ३ ओटा र २०७८।७९ मा २ ओटा गरी तीन वर्षको अवधिमा ६ ओटा शव बेवारिस अवस्थामा फेला परेका हुन्।
त्यस्तै, डोटी र अछाममा गत आर्थिक वर्षमा मात्रै कूल ३ ओटा शव फेला परेका छन् भने डडेल्धुरामा आर्थिक वर्ष ०७७।०७८ मा ४ ओटा, बझाङमा २०७७।७८ र २०७८।७९ मा १।१ ओटा, बैतडीमा २०७६।७७ मा २ र २०७८।०७९ मा १ ओटा र दार्चुलामा २०७६।७७ मा १ र २०७७।७८ मा २ ओटा शव बेवारिसे अवस्थामा फेला परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बेवारिस शवहरुलाई १०।१५ दिन जति राखेर पहिचान खुलाउने प्रयास गरिन्छ। ‘बेवारिस अवस्थामा फेला परेका शवलाई यति नै दिन पहिचानका लागि कुर्ने भन्ने निश्चित समयावधि त तोकिएको छैन, तर १०र१५ दिन जति कुर्ने गरिएको छ। शव नसड्दासम्म र नगन्हाउँदासम्म गर्ने र शवको पोष्टमार्टम पनि गर्ने गरिएको छ।
सो अवधिसम्म मृतकका आफन्त सम्पर्कमा नआए प्रहरीको पहलमा स्थानीय निकायले शव जलाउने गरिएको छ। त्यसपछि दुई वर्ष जति मृतकको पहिचान खुल्ने फोटो, कपडा, जुत्ता, नागरिकता अर्थात मृतकको साथमा जे भेटिन्छ त्योे राख्ने गरिएको छ। केही मृतकका आफन्तहरु शव जलाइसकेपछि पनि सम्पर्कमा आउने भएकाले मृतकको पहिचान खुल्ने सामान राख्ने गरिएको छ।

























