डडेल्धुरा। श्रावण महिना शुरु भएसंगै सुदुर पहाडका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्नेहरुको संख्या बढ्न थालेको छ ।
डडेल्धुरा ,बैतडि सहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाको रुपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने चलन समेत रही आएको छ । यसका साथै धार्मिक महिनाका रुपमा समेत चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ । साउनको महिना देवी देवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित बलाराम चटाैतले बताए ।
उनले भने‘ साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्। हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान बैकुण्ठमा बस्ने गर्छन्’ शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ।
आजदेखि भक्तजनले बिहानै उठेर नुहाइ धुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास छ साउन महिनाभरी शक्तिपीठ तथा मन्दिरहरुमा पुगेर बत्ती बाल्ने, भजन किर्तन गर्ने लगायतका चलनहरु रही आएका छन् । अरु बर्ष मन्दिर तथा शक्तिपीठहरुमा धेरै भीडभाड हुने भएपनि यो बर्ष कोरोना भाईरसका कारण अन्य बर्षको तुलनामा कम भीडभाड भएको छ ।
साउन महिनामा मन्दिरहरुमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले श्रावण महिनामा मन्दिरहरुमा भक्तजनहरु जाने गरेको छन् । डडेल्धुराकाे भागेश्वर मनेदिर, उग्रतारा मन्दिर, घटालथान र बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको स्थानीयबासीले बताएका छन् । बैतडिका त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा दोगडाकेदार, उदयदेव मन्दिरमा भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् ।
दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन् । श्रावण महिनाभरी मन्दिरमा राती जाग्राम बस्ने र बत्ती बाल्ने चलन रही आएको छ । जिल्लाबाट बसाइसरेकाहरु पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जन्मथलाे भित्रिने गर्दछन् । यस्तै छोरीचेलीलाई बोलाएर मीठा परिकार बनाएर खुवाउने प्रचलन छ । संक्रान्तिका दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दान दक्षिणा दिने पनि गरिन्छ यस दिनदेखि सूर्यको गति दक्षिणतिर हुने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।
साउन महिनालाई पवित्र महिना मानिन्छ । साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ। यसैले यस महिनाभरि खास गरी विवाहिताले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना र पूजा आराधना गर्छन्। साउनमा महिला हरियो पोते र चुरा तथा रातो लुगामा सजिएका हुन्छन् ।
साउनका सबै सोमबार महिलाले महादेवको पूजा गर्छन् । यसैबीच सुदूरपश्चिममा आज खेतबारीमा रोगब्याधि नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको हर्यालो हाल्ने चलन छ । हर्यालो हाल्ने भन्नाले कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई बुझिन्छ ।
साउनको महिना देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर हर्यालो हाल्ने गरिएको पण्डित चटाैतकाे भनाई छ । यससँगै साउनको महिनादेखि चाडपर्व सुरू भएको समेत मानिन्छ ।सुदुर पहाडमा यस महिनाभरि माछा मासु नखाएर पुजाअाजा गरिने गरिन्छ