हरेक पुस्ताको आफ्नो आकांक्षा र अपेक्षा हुन्छ। जनयुद्ध सुरूभएपछि १ पुस्ता नयॉ आईसकेको छ। सबै पुस्ताले उही उपलब्धीलाई बोकेर वा भजाएर बस्दैन हिजोका पुस्ताले ल्याएको संघीयता, गणतन्त्र र धर्म निरपेक्षता वर्तमान पुस्ताका लागि सामान्य भइसकेको हुन्छ। यो पुस्ताको चाहना बुझ्न नसक्नु नै राजनीतिको असफलता हो।



हिजोकै उपलब्धी भजाएरै आजको पुस्ताको चाहना पूरा हुदैन । कुनै पनि राजनीतिक ब्यवस्था केका लागि भन्ने प्रश्नको उत्तर हरेक पुस्ताले खोज्छ। ब्यवस्था हरेक पुस्ताबाट समसामयिक अनुमोदित हुदै गएको हुनपर्छ। कुनै पनि पुस्ता पूरानो पुस्ताको दास बन्दैन।
राजनीतिक गतिशीलता यही हो, कुनै प्रश्न उठेमा लोकतान्त्रिक प्रकृया र विधि अपनाएर पुनः अनुमोदित गराईरहनुपर्छ वा परिवर्तन गर्नुपर्छ। चुनावमा दलहरू र उही नेताहरूलाई भोट हालेर पुनः जिताउनु ब्यवस्थाको स्वतः अनुमोदन मानिएको हुदैन। त्यो त चुनाव प्रणाली ब्यवस्थापन मात्र हुन्छ।
त्यसैले आवधिक जनमत संग्रहबाट बेला बेलामा ब्यवस्थाका कुराहरू पुनः अनुमोदन गर्ने हिम्मत लोकतन्त्रमा हुनुपर्छ। यो नै सही पद्दति हुन्छ, विकल्पको विवादको निप्टारा गर्नका लागि। बाजेले जे गरे ठिक गरे, बाउले जे गरे सदाका लागि ठिक गरेर भनेर हिड्दा वर्तमान नेपाल जस्तो लथालिंगे राजनीतिक ब्यवस्थामा मात्र पुगिन्छ। तर कुनै पुस्ताले पनि बाउ, बाजेले ठिक गरे पनि आफूले पनि ठिक ठानेको गर्न पाउनुपर्छ भन्छ नै। आफ्नो भविष्य आफैले बनाउनुपर्छ र यो मेरो नै जिम्मेवारी हो भनेर हरेक पुस्ताले ठानेकै हुनुपर्छ यदि त्यो पुस्ता जीवन्त छ भने। पुरानाले आफ्नो कुरा सदाका लागि लाद्न पाईदैन।
वर्तमान पुस्ताको न्युनतम चाहना रोजगारी, सुशासन, बिकास, समृद्धि छ। यी कुरा प्रभावकारी ढंगले संबोधन हुन वा प्राप्त गर्न सकिएन भने ब्यवस्थामा प्रश्न उठ्न जान्छ, हिजोका भएका उपलब्धीहरू पनि सोत्तर पर्न सक्छ। – भीम उपाध्याय

























