डडेल्धुरा ः फागु अर्थात होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आग्रह गरेको छ । प्रहरी कार्यालयले सन्देश निकालेर सभ्य एवम सुरक्षित तवरले होली पर्व मनाउन सबैसँग अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उत्ताउला क्रियाकलाप नगर्न आग्रह गरेको छ ।



कसैको इच्छाविपरीत रङ, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही गर्ने समेत प्रहरीले बताएको छ । यस्तै महँगा गरगहना लगाएर होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, जाँडरक्सी खाएर गाडी नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई कुनै पनि प्रकारको दुव्र्ययवहार नगर्न पनि प्रहरीले भनेको छ ।
भिडभाड हुने ठाउँमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नम्वर १०० मा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ । यसवर्ष पर्सि सोमवार हिमाली र पहाडी जिल्लामा तथा मङ्गलवार तराईका जिल्लामा फागु अर्थात होली पर्व मनाइँदैछ ।

























