डडेल्धुरा ः ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि डडेल्धुरा बहुमुखी क्याम्पसमा ८ वटा संघ दर्ता भएका छन् । आज संघ, संगठन र समूह दर्ताका लागि समय तोकिएकोमा ८ वटा संघ दर्ता भएका हुन् । निर्वाचन अधिकृत भुवनेश्वर पनेरुका अनुसार नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (एस)ले स्ववियु निर्वाचनका लागि दर्ता गरेका छन् ।



यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी विप्लप), नेपाल विद्यार्थी संघ (विपी), अखिल (क्रान्तिकारी) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) पनि डडेल्धुरा बहुमुखी क्याम्पसको निर्वाचन समितिको कार्यालयमा दर्ता भएका छन् ।
यसअघि नै निर्वाचन समितिको कार्यालयले सूचना जारी गर्दै निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । आज संघ दर्ता गरिएकोमा २१ गते मतदाता सूची प्रकाशन, २५ गते १ बजेसम्म मतदाता सूचीमाथि दाबी विरोध, २५ गते ५ बजेसम्म अन्तिम नामावली प्रकाशन, २६ गते मनोनयनपत्र वितरण, २७ गते ११ बजेदेखि २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने निर्वाचन तालिका छ ।
निर्वाचन अधिकृत पनेरुले २७ गते ५ बजे उम्मेदवारको नामावली प्रकाशन, २८ गते ११ बजेदेखि २ बजेसम्म उम्मेदवारको नामउपर दाबी विरोध, २८ गते ५ बजे छानबिनपछि उम्मेदवारको नामावली प्रकाशन, २९ गते १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय, २९ गते २ बजे उम्मेदवारको अन्तिम नावाली प्रकाशन र चैत ५ गते विहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने तालिका रहेको जानकारी दिए ।

























