काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान गर्न गठित कार्यदललाई पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको छ । सोमवार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल कार्यदलको प्रतिवेदन सचिवालयमा छलफल गर्न सहमत भएपछि कार्यदललाई अनुमोदन गरिएको हो ।
नेकपाभित्र विवाद चुलिँदै जाँदा गत शुक्रवार अध्यक्षद्वयले समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरेका थिए । दुवै अध्यक्षको सहमतिमा गठित कार्यदललाई सचिवालय बैठकले अनुमोदन गरेको नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपा महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलका सदस्यहरूमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे छन् ।
सचिवालयले अनुमोदन गरे पनि कार्यदललाई समयावधि र ठोस कार्यादेश तोकिएको छैन । प्रवक्ता श्रेष्ठले सचिवालय बैठकले चाँडो सुझाव पेश गर्न भनेको बताए । कार्यदलले दुई अध्यक्षबीचको अधिकार बाँडफाँट, मन्त्रिपरिषद् पुनर्गठन, महाधिवेशनलगायत विषयमा मस्यौदा बनाउनेछ ।