धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ र १८ मा एक दर्जन घर र पसलमा चोरी भएको छ। आइतवार राति भारतीयको समूहले घर तथा पसलमा चोरी गरेको स्थानीयले बताएका छन्। फूलबारीका स्थानीय गोपाल बस्नेतको पसलबाट २ लाख ५० हजार नगदसहित पानी तान्ने मोटरहरू चोरी भएको फूलबारीका व्यवसायी कृष्ण पाण्डेयले बताए।
उनका अनुसार फूलबारीको गहतराज सुन चाँदी पसलको ताला तोड्ने क्रममा र स्थानीय केदार चापागाईको घरबाट मोटर चोर्ने क्रममा स्थानीयले थाहा पाउँदा चोरहरूको समूह भागेको पाण्डेयले बताए।
आइतवार राति वडा नम्बर १४ र १८ को एक दर्जन घरबाट पानी तान्ने मोटर चोरी भएको र चोरीमा संलग्न समूह भारतीय रहेको स्थानीयले बताएका छन्। धनगढीका स्थानीयले आधिकारिक नाका बाहेक अन्य ठाउँबाट नेपाल–भारत आवागमन बन्द गर्नुपर्ने माग गर्दै आएका छन्।



सीमाक्षेत्र भएर बग्ने मोहना नदीमा बनाइएका काठेपुल भत्काउनुपर्ने र अवैध बाटाहरू प्रयोग गर्न पूर्णरूपमा बन्देज लगाउनुपर्ने सीमाक्षेत्रका नागरिकले माग गर्दै आएका छन्। तर सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरू अबैध मार्ग बन्द गर्न अनिच्छुक रहेको पाइएको छ।
सीमा क्षेत्रबाट हुने अवैध आवागमन, तस्करी र चोरी नियन्त्रण गर्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी स्थापना गरिएको भए पनि सशस्त्र प्रहरीका उच्च अधिकारी नै सीमा क्षेत्रको तस्करी रोक्न, आवागमन बन्द गर्न र चोरी नियन्त्रण गर्न उदासिन हुँदा सीमा क्षेत्रका नागरिकले समस्या खेप्नु परेको गुनासो गर्दै आएका छन्।


















