डडेल्धुरा(जनक महरा) ः समुद्री सतहबाट दुई हजार मिटर बढी उचाइमा रहेको गन्यापताललाई पर्यटकीय स्थलका रूपमा विकास भएकोछ । माहाभारत लेकको टाकुरोमा अवस्थित उक्त ताल झण्डै एक किलो मिटर भू–भागमा फैलिएको छ । ताल क्षेत्रको चारैतिर डाँडाकाँडाले घोरिएको छ ।
उक्त क्षेत्रको सरक्षण गरी पर्यटक आकर्षणको केन्द्र बनाउन विकास को थालनी स्थानीय संरचनाहरुको निमार्ण भए देखि नै गरिदै आएको थियो निर्वतमान अध्यक्ष नबल बहादुर मल्लले बताए ।
गान्याप तालकै नामबाट गाउँपालिकाको नाम पनि गन्यापधुरा राखिएको निर्वतमान अध्यक्ष मल्लले बताउनुभयो । यो ताल डोटीको शिखर नगरपालिका र जोरायल गाउँपालिकाको सिमानासँग जोडिएको छ ।
समुद्रिक सतहको एक हजार २०० मिटरदेखि दुई हजार ६७१ मिटरको उचाइमा रहेको यो तालमा ७७ प्रतिशत वन जंगलसँगै ठूलठूला फाँट छन् । यस पर्यटकीय क्षेत्रलाई मिनी खप्तडको रुपमा विकास गर्न लागिएको पालिकाका अध्यक्ष ईन्द्र बहादुर मल्लले बताउनुभयो ।
गन्याप ताल नजिकसम्म सडक निर्माण गरिएकोछ भने यसको पुर्वाधार निमार्णका लागि आ.व. ०७५।०७६ मा रु ५० लाख विनियोजन भएको थियो । यस क्षेत्रमा विभिन्न प्रकारका जडीबुटीहरु पाइन्छन् । ओसिलो स्थानका ठाउँ ठाउँमा पानी जमेकाले जमिनमा टेक्दा भासिने देखिन्छ । टेक्दा थलथल हुने भएकाले भित्र पानी रहेको अनुमान बुडापाकाको छ ।
उक्त स्थानमा पाँचऔले , गनानो, कुज्र्या, सतुवा, सेलपोडे, रातो च्याउ लगायतका जडीबुटी पाइने स्थानीय हरिलाल भट्टले बताउनुभयो ।
पहिलेको तुलनामा गर्मी बढ्दै गएको तथा ताल, जंगल, जंगली जनावरको संरक्षण हुन नसक्दा कस्तुरी लगायतका अन्य मृग लोप भइसकेको अर्का स्थानीयवासी चक्रबहादुर मल्लले बताउनुभयो ।
प्रसिद्ध धार्मिक पिठका रुपमा मानिने गन्याप मन्दिरदेखि करिब पाँच किलोमिटरको दूरीमा रहेको उक्त ताल संरक्षणमा पालिकाले स्थानीय सँगै प्रदेश र संघबाट वजेट विनियोजन गरेर कार्य गरेकोछ ।





















