२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कृषि पढेका २० बर्षिय निखल जो गाउँमै लोभ लाग्दो कृषिमा



निखिलको रचनात्मक कृषि

काठमाण्डौ ः कैयौँ युवा स्वदेशमा उद्यमको केही उपाय नदेखेर दैनिक परदेश भासिइरहेका छन्। ऊर्जाशील उमेरमा थुप्रै किशोरकिशोरी छिटो सम्पन्न हुने रहरमा बाटो बिराइरहेका हुन्छन्। उद्यम गर्न बाआमाले खेताला नपाउँदा बेरोजगार छोराछोरी कुलतमा फसिरहेका हुन्छन्। तर, गुल्मी चन्द्रकोट– ३ का २० वर्षे निखित खत्री आफ्नै उद्यम गरेर मासिक दुई लाख कमाइरहेका छन्।

जन्मेहुर्केको गाउँमै स्वरोजगारीको सम्भावना देखाएर उनी पछिल्लो पुस्ताका लागि उदाहरणीय पात्र बनेका छन्। निखिलले डेढ वर्षदेखि चन्द्रकोट गाउँपालिका–५ ग्वाघाको धुवाँखर्कमा च्याउ खेती गर्दै आएका छन्। सम्भवतः यो जिल्लाकै सबैभन्दा ठूलो च्याउ फार्म हो। उनी बिहान ५ बजेदेखि साँझ अबेरसम्म कामदारहरूसँग फर्ममै भेटिन्छन्।

निखिलले व्यक्तिगत २५ लाखको लगानीमा २० वटा टनेलबाट च्याउ उत्पादन सुरु गरेका छन्। फर्ममा १२ हजार डल्लामा एकैपटक च्याउ फलाउन सकिन्छ। अहिले औसतमा दैनिक तीन क्विन्टल च्याउ उत्पादन हुने गरेको उनले बताए। सिजनमा दैनिक सात(आठ क्विन्टलसम्म च्याउ उत्पादन हुन्छ। वार्षिक एक लाख भाडामा १० रोपनी जग्गा लिजमा लिएका उनको फर्म दर्ता गरेर ५० वटा टनेलमा च्याउ खेती विस्तार गर्ने योजना छ।

निखिलले च्याउको बिउ पनि आफैँ उत्पादन गरिरहेका छन्। यो वर्ष १५ क्विन्टल च्याउको बिउ बिक्री गरेर पाँच लाख बढी कमाई गरेको उनको भनाइ छ। अहिले ६ जनाले उनको फर्मबाट प्रत्यक्ष रोजगारी पाइरहेका छन्। सिजनमा १५ जनासम्मले काम पाउँछन्। अहिले खाने र बस्ने सुविधासहित मासिक १५ हजार तलबमा युवाहरूलाई रोजगारी दिन पाउँदा खुसी लागेको खत्रीले सुनाए। आगामी चैतदेखि ३० वटा टनेल थपेर दोब्बरलाई रोजगारी प्रदान गर्ने उनको लक्ष्य छ।

गाउँमै कृषि पढेर गाउँमै सपना
विनाज्ञान र सीपका उद्यम डुबेका कैयौँ उदाहरण छन्। अनुदान र देखासिकीका लागि गरिएको कृषि कर्म फस्टाएको पाइँदैन। त्यसैले निखिल खत्रीले पढाइलाई आफ्नै गाउँको माटोमा प्रयोग गर्दै छन्। उनले चन्द्रकोट– ४ को उदय माविमा कक्षा ९ देखि १२ सम्म कृषि विषय अध्ययन गरे। आइएससी–एजी गरेपछि उनले तालिमहरू पनि लिए।

व्यावसायिक पारिवारिक पृष्ठभूमिका निखिलका दुई भाइमध्ये दाइ कमलले शान्तिपुर बजारमा फोटो, भिडियोसहित इलेक्ट्रोनिक व्यावसाय गर्दै आएका छन्। बुबा धनबहादुर र आमा रोशनी पुराना होटेल व्यवसायी हुन्। बुबा–आमाकै व्यावसायिक मानसिकताका कारण छोराहरू सानैबाट उद्यममा लागेका हुन्।

अहिले आफैँ च्याउको ल्याबसमेत सञ्चालन गरेका निखिलले च्याउका विभिन्न परिकारका साथै तरकारीका बिरुवाहरू उत्पादन गरेर बिक्री गरिरहेका छन्। उनले अहिलेसम्म सरकारका कुनै पनि तह र निकायबाट अनुदान लिएका छैनन्। ‘गाउँमा पाएको प्राविधिक शिक्षाको उपयोग गाउँमै गरिरहेको छु। कृषि क्षेत्रमा चुनौती थुप्रै छन्,’ उनले भने, ‘परदेशभन्दा घरदेशमा केही गरेर देखाउने सपना बुनेको छु।’ उनले मुख्य बजार टाढा र सडकको पहुँच सजिलो नभएकाले समस्या भइरहेको बताए। आफूले अहिलेसम्म बैंकको कर्जामार्फत नै लगानी गरिरहेको उनले सरकारबाट बजारीकरणमा सहयोग होस् भन्ने अपेक्षा मात्रै लिएका छन्। नँया पत्रिका बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।