काठमाडौं ।आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ ।
लाइन्स क्लब अफ काठमाडौँ समपर्णले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको हो ।
लाइन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष दीपक वंशल गम्भीर बिरामी परेका कोरोना सङ्क्रमितलाई अस्पताल र सामान्य बिरामीलाई घरमा राखेर उपचार गर्नसके अस्पतालमा बिरामीको भीडभाड कम हुने बताउँछन् ।
“घरमा बसेर उपचार गराइरहेका सामान्य र विपन्न परिवारलाई लक्षित गरेर हामीले ‘अक्सिजन बैंक’ स्थापना गरेका हौँ”, उनले भने । घरमा उपचार गराइरहेका सम्पन्न परिवारले पनि अक्सिजन सिलिन्डर नपाए बैंकमा सम्पर्क गर्न सकिने अध्यक्ष वंशलको भनाइ छ ।
अक्सिजनको अभावमा गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा समस्या भएको अवस्थामा अक्सिजन बैंकको स्थापनाले धेरै राहतको अनुभूति भएको बताइएको छ । लायन्स क्लब समर्पणले सानो ५० र ठूलो १५० सिलिन्डर बिरामीका लागि राखेको छ । सानो सिलिन्डरले चार घण्टासम्म र ठूलो सिलिन्डरले २० घण्टासम्म अक्सिजन दिन्छ ।
यस बैंकले अक्सिजन निःशुल्क प्रदान गर्ने भएकाले सिलिन्डर भने अक्सिजन सकिनेबित्तिकै अक्सिजन बैंकमा फिर्ता गर्नुपर्ने हुन्छ । माग बढ्दै जाँदा सिलिन्डरको क्षमतासमेत बढाउँदै लैजाने अध्यक्ष वंशलको भनाइ छ ।
आर्थिक अभावका कारण अक्सिजन किन्न नसक्ने विपन्न समुदायलाई बैंकबाट ठूलो राहत मिल्ने विश्वास लिइएको उनले बताए ।
अक्सिजन बैंक स्थापना गर्न ३० लाख खर्च भएको छ । कसैलाई आकस्मिक रुपमा अक्सिजन चाहिएमा हटलाइन नम्बर ९८२३४४४०५५ वा ९८१३१८६४८४ मा चौबिसै घण्टा सम्पर्क गर्न सकिने लायन्स क्लब अफ काठमाडौं समर्पणले जनाएको छ ।