धनगढीः सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा शनिबार भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका एक–दुई स्थानमा शनिबार भारी वर्षाको सम्भावना रहेको बताएको हो।
पछिल्लो २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। प्रदेशमा सडक तथा हवाई सेवामा सामान्य प्रभावको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने भएकाले कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु भनिएको छ। सुदूरपश्चिममा असोज २४ गत सोमबारसम्म वर्षको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशभरको मौसममा बदली आएको हो।




























