२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

अपूर्ण प्रेम

जनक जोशी – भदौरे झरी दर्किएर पर्दै थियो। अत्तरियाबाट पूर्व जाने सहचालक साथीहरू ठूलो ठूलो स्वरमा ‘काठमाडौं! काठमाडौं!’ भन्दै बोल्दै बोलाउँदै थिए। ४—५ नम्बर सिटकोको टिकट काटेर बसको झ्यालतिर बसेर झरीका थोपाहरूसँग प्रेमिल संसारको अंकुरणमा धुमलिँदै थिएँ।

उमेरले १९—२० को करिब ५ फिट ५ इन्च अग्लो, हल्का कालो वर्णको केशलाई भालेको शिरजस्तै उच्च बनाएको केटा नजिकैको सिट नम्बर ५ मा बस्यो। ऊ केही अस्वाभाविक हुँदो हो या विचलित, उसलाई अध्यन गर्नु मलाई केही समय लागेन।
झरी रोकिने सुरसारै थिएन, निरन्तर पानी पर्दै थियो। चालकले गाडी चलायो, गीत घन्क्यो- ‘मलाई यो जिन्दगीले चोट दियो गनी गनी… कहिले चोट दियो आफ्नो भनि कहिले पराई भनि यत्तिकैमा ती युवकले मलाई झ्यालतिर बस्न दिन अनुरोध गर्यो। मैले स्विकृत जनाइदिएँ। एकटकले ऊ मोबाइलमा केही चिहाइरहेको थियो। ऊ धेरै विचलित देखिन्थ्यो। बाहिर झरीका थोपासँग उसका आँखामा देखिएका आँसुलाई दाँजेर सोधिहालेँ- घर कता हो नि_ < ‘अछाम, दाइ हजुरको

केही समय हाम्रो परिचयात्मक वार्ता भइरह्यो। उसको नाम सुजित रहेछ। सुजितले दाइ भनेपछि मलाई निकट बोध भयो। मैले बुटवलसम्मको यात्रा तय गर्नु थियो। सामान्य परिचयपश्चात हामी मौन भयौं। गीत र गाडी आफ्नै तालमा घन्किदै थियो।
‘म हारेको बेला, म लडेको बेला सहारा खोज्दै हिँडेको बेला === सायद यो गीतले सुजितलाई असहज बनायो। उसले सिसाबाट बाहिर टाउको निकालेर गुलाबी रङको रुमालले आँसु पुछ्यो।

मैले सोधेँ, ‘केही गाह्रो त छैन
‘हैन दाइ, म ठिक छु।

म अब विश्वस्त थिएँ ऊभित्र केही कुराको संकट पीडा छ। उसले खुलाएर भनोस् पनि कसरी? भर्खरै भेटेको मान्छे जो परेको थिएँ।
ऊ फेरि मोबाइलमा व्यस्त भयो। कुन्नी मोबाइलमा केही हेर्थ्यो र रुमालले आँसु पुछ्थ्यो। उसको आशय नै आँसुको माध्यमले पीडाहरू बगाउनु थियो कि? कैलालीको लम्की पुगेपछि उसको मोबाइलको वालपेपरमा एक युवती देखिइन्। ती युवतीलाई नै हेर्दै रोएको हुनुपर्छ ऊ भनेर लख काटेँ।
‘भाइ, भन न यार के भएको छ . किन यसरी फोटो हेरेर रुँदै छौ < उसले सुरुमै दाइ शब्द प्रयोग गरेकाले मलाई कर गर्न अलि सहज भयो। मोबाइलको वालपेपरमा इङ्कित गर्दै उसले भन्यो, सुहाना श्रेष्ठ ‘मतलब तिम्रो प्रेमिका
‘प्रेमिका दाइ, हुन नसकेकी जीवन साथी। हामी प्लस-टु सँगै व्यवस्थापन संकायमा पढ्थ्यौं। गरिबीले व्याप्त भएको परिवारको एक्लो आशा, आमा र बाको एक्लो साहरा हुँ दाइ। +२ उत्तीर्णपश्चात पहाडी जिल्लाको अछामबाट सपनाहरूको सहर धनगढीमा जानु आफैमा आनन्दित थियो। क्याम्पसका दिनहरू रमाइला हुँदै थिए। केएमसी कलेजमा मंसिरका दिनहरू तुसाराले सहरलाई छोप्ने, त्यहीमाथि चिसो। त्यही समय भेटिएकी थिइन् सुहाना।
प्रेमको आशा पनि बढो अजीवको हुँदो रहेछ। मलाई थाहा थियो हाम्रो जात मिल्दैन, संस्कार मिल्दैन। त्यही पनि उनलाई चाहिरहेको थिएँ। मानौं मेरो लागि उही सारा संसार हो जस्तै। ठिक फागुन ४ गते त्यो वर्षको प्रेम दिवस थियो। म्यासेज रिक्वेस्ट पठाएँ- सुहाना यो संसारको बहुमूल्य उपहार हौ तिमी मेरो लागि। तिमीलाई थाहा छ या छैन तिमीलाई एकटकले धेरै चोटि हेरेको छु। तिमीलाई कल्पना गरेर तिमी सित कुरा गरेको छु। आज मौका पाएँ र भन्दैछु- सुहाना, आई लभ यू।
लभ र कपलवाला सहितको इमोजी पठाएँ। म्यासेजको पर्खाइ धेरै लामो गरेँ, रिप्लाई साँझ आयो। ‘लब यू टू’ सँगै लेखेर पठाइन्, ‘अस्ती नै प्रपोज गरुँला सोचेको थिएँ। के पहिला जान्ने भएर गर्नु भनेर नगरेकी।’
मैले भने डरले बल्ल त्यो दिन मात्र भन्न आँट जुटाएको थिएँ नत्र त जिन्दगी नै कुर्नुपर्ने रहेछ बरै।
धनगढीका जोखर ताल, फनपार्क, गोदावरीको भाइरल पुल हाम्रो बहाना बनेर जाने घुम्ने उत्तम स्थान भइसकेका थिए। नेवारको छोरी, बाबु प्रहरीको रिटायर्ड अफिसर, आमा स्कुलकी प्रिन्सिपल, दाइ अस्ट्रेलिया। उसलाई घरमा रोकटोक केही थिएन। मसँग पैसा धेरै नहुने, उसलाई पैसा कहाँ खर्च गरौँ हुने। कहिलेकाहीँ घरबाट पैसा नआए उनैले कोठा भाडा तिरिदिन्थिन्।
बिबिएसको पहिलो सत्रको परीक्षापश्चात मैले लघुबित्तमा काम गर्न लागेँ, उनी पनि पढाइलाई केही समयको लागि रोकेर अष्ट्रेलियाको लागि आइइएलटिएस गर्न भनि काठमाडौं लागिन्। भौतिक रुपमा हामी सँगै नभए पनि म उनलाई महसुस गर्न सक्थेँ। त्यसैले त मलाई आउने मायाका प्रस्तावहरू सिधैं नकारिदिन्थेँ। सायद सम्बन्धहरू आत्मा र शरीरको मिलन यही कारणले भन्छन् होला।
समय अनुकूल चल्दै थियो। हाम्रो प्रेमको बिजारोपण भएको पनि ठिक ३ वर्ष भइसकेछ। कति छिटो चल्ने समय! कति छिटो चल्ने घडी! यो समय रोक्ने कुनै यन्त्र छैन ,यत्तिकैमा गाडी रोकियो।

म सोच्दै थिएँ, यति प्रमिल सुन्दर कहानी होला र सुजितको कथा! साँच्चीकै के भाको होला? यही मन कौतुहलता साथ खाना खाने मन नै भएन। दुवै अलिकति खाना खाएजस्तै गरेर भए पनि गाडीमा चढ्यौं। अब रातभरि गाडी नाइट मात्र चल्नेवाला थियो। उसको यात्रा काठमाडौंसम्म थियो, म र ऊ बुटवलसम्मका मात्र साथी थियौं।
‘सुजित वास्तवमामा के भयो यार < किन बिछोडिनु पर्यो < निधार खुम्चाउँदै प्रतिपश्न गरेँ, 'यार, औकात नै ठूलो, प्रिय लाग्छ धनीमानीहरुलाई। हामीभन्दा राम्रो मिले त गैहाल्छन् नि। ऊ गम्भीर भएर मलाई सुन्दै थियो। केही जवाफ फर्काएन। फेरि हाम्रो स्थिति चकमन्न भयो, गीत बजिरह्यो- 'धनगढीको बसमा, आउँदा मलाई ल्याइदिनु टक्क कालो चस्मा। मलाई हतार भइरहेको जान्न कि के कारण होला त सुजितको यस्तो हालत हुनु पछाडि? अब ऊ बोल्दै गयो। 'वैशाखको महिना लघुबित्तको तालिमको कारणवश म काठमाडौं जानुपर्ने भयो। सुहाना पनि आइएलटिएसको परीक्षा पास भएर अष्ट्रेलिया जाने तयारीमा थिइन्। सम्भवतः उनको फ्लाइट मंसिर/पुसतिर हुनेवाला थियो। हाम्रो योजनाअनुरुप नै हामी चल्दै थियौँ। डिपेन्डेड भिसामा म पनि जाने भन्ने तयारी थियो। जेठको ७ गते एक अन्जान नम्बरबाट फोन आयो- 'सुजित, सुहाना इज नो मोर_ मलाई थाहा नै थिएन यस्तो अप्रिय घटना घट्छ भनेर। आकाश झरेजस्तो, धर्ती भासिएजस्तै भयो। म बेहोस भएछु। होस खुल्दा आफ्नै कोठामा भेटिएँ। कसले अफिसबाट ल्याइदिनु भएछ अत्तोपत्तो भएन। जब म रक्सीको नशामा हुन्थेँ, सुहानालाई एक परीसँग दाँज्थेँ र आफूलाई भुलाउँथे। जब नशा सकिन्थ्यो, तब उसको यादले मलाई पीडा दिन्थ्यो। दाइ, उसले छोडेर गएको एक वर्षभन्दा बढी भइसकेछ। खै! उसले पनि मलाई बोलाएको जस्तै महसुस हुन्छ यत्तिकैमा सहचालकको आवाज आयो- बुटवल बुटवल बुटवल _झर्नैवाला आउनुस् है मेरो त आँखा नै रसाएछ। आँसुलाई हातले पुछ्दै 'ल है सुजित, राम्रोसँग जाऊ। ह्याभ अ नाइस डे, ह्याप्पी जर्नी' भनेर हात मिलाएर त्यहाँबाट निस्केँ। बसपार्कमा उत्रिएपछि ठिक १० मिटर अगाडिको एउटा लजमा रोकिने भएँ। बिहानको ४ बजिसकेको थियो। मेरो लागि कोठा पहिला नै बुकिङ थियो। १०५ नम्बर चाबी लिएर कोठा खोले ब्याग राखेर त्यही सुहाना र सुजित मनमा दौडिरहे। नजिकै रहेको डायरीमा लेखेँ– पूर्ण युवाको अपूर्ण कहानी_

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।