डडेल्धुरा
डेउडाको महत्व
डेउडा गीत (प्रचलित) देउडा गीत नेपालको सुदूर तथा मध्य क्षेत्रमा गाईने प्रचलित लोक गायन शैली हो। यसलाई डेउडा भाषा, डेउडा गीत, लोक डेउडा आदी नाम दिएको पाइन्छ। यो भाषा खासगरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लाहरूमा मुख्य रूपमा अपनाइएका पाइन्छन् । यो पश्चिमेली भाषामा गाइन्छ । डेउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य प्रदान गीत हो ।
यस गीतमा गरिएको नृत्यलाई डेउडा खेल अथवा न्याउले खेल भनिन्छ । यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ ।
स्थानीय भाषिकाहरूमा सृजित भई लोकप्रियता कमाएको डेउडाले यस क्षेत्र भन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ । डेउडा खेल र गायनको प्रक्रिया यस क्षेत्रमा खास गरेर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदीमा प्रस्तुत गरिन्छ । यस गीतलाई एकल रूपमा पनि गाउन सकिन्छ ।
नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाइ प्रस्तुत गरिने भएकाले यस गीतलाई डेउडा नामकरण मानिन्छ ।
संस्कृत भाषाको देउंदुराय शब्दबाट देउदुरा हुँदै डेउडा शब्द बनेको हो भन्ने पनि छ । डेउडा गीतमा वैयक्तिक जीवनका विभिन्न पक्षहरूलाई उद्धघाटित गरिएको हुन्छ । मान्छेको जीवनमा आउने सुख दुःखका अनुभुती र मिलन बिछोडको पक्षलाई डेउडाले सङ्केत गरेको हुन्छ ।





























