डडेल्धुरा ः सडक दुर्घटना कम गर्न सुदूरपश्चिम प्रदेशमा फेरि ‘टाइम कार्ड’ (निश्चित समय) लागू गरिएको छ। डडेल्धुरादेखि तराइका दुई जिल्ला कैलाली र कञ्चनपुर जाँदा र कैलाली र कञ्चनपुरबाट डडेल्धुरा आउने सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू भएको हो।



सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी प्रविन धितालका अनुसार डडेल्धुरादेखि अत्तरिया र डडेल्धुरादेखि महेन्द्रनगर सवारी साधन सञ्चालन गर्नका लागि टाइम कार्ड लागू गरिएको हो। डडेल्धुरादेखि अत्तरियासम्म ४ घण्टा १५ मिनेट र डडेल्धुरादेखि महेन्द्रनगरसम्म सवारी चलाउदा ५ घण्टा १५ मिनेट समय निर्धारण गरिएको एसपी धितालले बताए।
‘सवारीसाधन चलाउदा डडेल्धुरादेखि बुडर सम्मको ५४ किलोमिटर दूरी पार गर्दा कम्तिमा पनि २ घण्टा लगाउनुपर्ने छ,’ एसपी धितालले सुदूरआवाजलाई भने, ‘बुडरदेखि अत्तरिया सम्मको ६३ किलोमिटर दुरी पार गर्दा २ घण्टा १५ मिनेट र अत्तरियादेखि महेन्द्रनगर सम्मको ४३ किलोमिटर दूरीका लागि एक घण्टा समय निर्धारण गरिएको छ।’
यस्तै डडेल्धुरामा बुधबार एक कार्यक्रमका बीच टाइम कार्डको सुरुवात गरिएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सवारी चालकलाई कार्ड वितरण गर्दै टाइम कार्डको सुरुवात गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले चाडपर्वमा हुने दुर्घटना न्यूनीकरण र चालकबीच हुने अस्वस्थ प्रतिस्पर्धा रोक्नका लागि टाइम कार्ड सुरु गरिएको बताए। बस, जीप लगायत यात्रुवाहक सवारी साधनमा टाइम कार्ड लागू हुनेछ।
निर्धारित समयभन्दा अगाडि पुगेका सवारी साधनमाथि कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ। यसअघि पनि भीमदत्त राजमार्गमा टाइम कार्ड लागू गरिएकोमा प्रभावकारी नहुँदा बीचमै अलपत्र परेको थियो।


















