२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

महिनावारीका बेला छाउ गोठ : घरै बिरानो

बैतडी, ७ भदौ । महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छभन्दा पत्याउन गाह्रो पर्छ । बैतडीको मेलौली नगरपालिका–८, का पाँचवटा गाउँका महिला रजस्वला हुँदा गाउँ नै छाडेर जानुपर्ने अर्को गाउँमा रहेको छाउ गोठमा जानुपर्ने बाध्यता छ । 
बैतडीको मेलौली नगरपालिका–८, को विशालपुर क्षेत्रका बबैठा, बोराल, माणैं, रत्तोलार मुस्याल गाउँका महिला र किशोरी महिनावारी भएका बेला देउताको डरले घर छाडेर छिमेकी चौपाता र खैरानी गाउँको गोठमा बस्दै आएका छन् ।
विशालपुर क्षेत्रका पाँचवटा गाउँको तलतिर गङ्गेश्वर देउताको मन्दिर भएका कारण छाउ भएका महिला देउता रिसाउने डरले घर छाडेर छिमेकी गाउँको गोठमा बस्ने कुप्रथा रहेको मेलौली नगरपालिका–८, का वडाध्यक्ष तपेन्द्र विष्टले जानकारी दिए । 
छाउ भएका बेला छिमेकी गाउँको गोठमा चार दिनसम्म बस्नु पर्दा यौन दुव्र्यवहार, सर्पदंश र चितुवाको डर हुने गरेको उनले बताए । यौन दुव्र्यवहारका त एक÷दुईवटा घटना नै भएको वडाध्यक्ष विष्टले जानकारी दिए । गाउँमा बिजुली बत्ती नहुँदा अँध्यारो गोठमा रात काट्नु पर्दा महिला र किशोरीहरू असुरक्षित रहेको पाइएको छ ।
विडम्बना त के छ भने महिनावारी भएका महिला र किशोरी घरबाहिरको काम गर्न भने दिनभरि गाउँमा आउन पाउँछन् । घाँस काट्न, दाउरा बोक्नेजस्ता कठिन काम गर्न भनेँ महिलालाई दिनभरि गाउँघर आउन छुट हुन्छ । 
तर रात परेपछि घर छाडेर छिमेकी गाउँको गोठमा बास बस्न जानुपर्ने बाध्यता रहेको स्थानीय किशोरी समूहकी संयोजक पुष्पा विष्टले बताइन् ।

 छाउपडी प्रथाविरुद्ध गाउँमा किशोरी समूह सक्रिय भए पनि कुप्रथा हट्न नसकेको किशोरी पुष्पाको भनाइछ । देउताको डरले महिनावारी भएका महिला आफैँ छाउपडी प्रथामा जकडिएकाले समस्याको सुनुवाइ नभएको उनले बताइन् । 
किशोरी समूहकी संयोजक विष्टले भनिन्,‘महिनावारी सरसफाइ स्वच्छताका विषयमा दुर्गम गाउँमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट कुनै कार्यक्रम हुँदैनन् । किशोरीले भनेका कुरा कसैले सुन्दैनन् । महिनावारी मात्रै होइन, सुत्केरी भएका बेला ११ दिनसम्म अर्को गाउँको अँध्यारो गोठमा रात काट्नुपर्छ ।’ छाउपडी प्रथा उन्मूलन गर्न कानुन बने पनि फितलो कार्यान्वयनले सुदूरपश्चिमको बैतडीलगायतका जिल्लाबाट छाउपडी प्रथा हट्न नसकेको उनले बताइन् । दुर्गम ग्रामीण क्षेत्र छाउपडी प्रथाविरुद्ध किशोरीहरूले अभियान सञ्चालन गरे पनि महिलाबाटै सहयोग नमिलेको किशोरीहरूको गुनासो छ । 
गाउँमा देउताकै डरले पुरुषहरूले पनि घरको माथिल्लो तलामा खाट लगाएर सुत्न नपाउने चलन छ । घर बनाउँदा पनि दुई तलाभन्दा बढी बनाउने र मन्दिरतर्फ दृष्टि पर्ने गरी खोलादेली (ढोका) राख्न नपाइने प्रचलन रहेको वडाध्यक्ष तपेन्द्र विष्टले बताए । copy by paschimtoday

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।