डडेल्धुरा । डडेल्धुरा जिल्लाका चार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ। जिल्लाको अमरगढी नगरपालिका, नवदुर्गा, अजयमेरु र भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो।
जिल्लाको नवदुर्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माको युवा तथा खेलकुद मन्त्रालय सरुवा भएको छ भने उनको स्थानमा बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्ट नवदुर्गा आउने भएका छन्।
अजयमेरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटाको गृह मन्त्रालय सरुवा भएको छ। उनको स्थानमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट प्रशासकीय अधिकृत कृष्णानन्द जोशी आउने भएका छन्।
यस्तै भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिममा सरुवा भएको छ। उनको स्थानमा जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्रशासकीय अधिकृत खगेन्द्र भारती आउने भएका छन्।
अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाको कैलालीको लम्कीचुहा नगरपालिकामा सरुवा भएको छ। उनको स्थानमा अमरगढी नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतको भने निश्चित नभएको नगरपालिकाले जनाएको छ। सुदुरआवाज




























