प्रेस युनियनमा संस्थापनबाट अध्यक्षमा सरोज र महासचिवमा केशवको उम्मेदवारी, अरु को-केमा भिड्दैछन्?
काठमाडौं- नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनका लागि विभिन्न पदहरुमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनिरहेको छ। प्रेस युनियनको महाधिवेशन यही साउन ६ र ७ गते हेटौंडामा हुने भएको छ। युनियनका अध्यक्ष बद्री सिग्देलले आइतबार महाधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई निमन्त्रणा गरेका छन्।
केन्द्रीय कमिटीका अध्यक्ष सिग्देलसहित वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, कार्यवाहक महासचिव भिष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारीलगायतले भेटेर प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई निमन्त्रणा दिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ।
युनियनको महाधिवेशनमा दुई प्यानलसहित उम्मेदवारी दिने गरी दुबै प्यानलले तयारी गरिरहेका छन्। संस्थापनइतरबाट अध्यक्षका लागि दीपक आचार्य र शिव लम्सालले दाबी गरिरहेका छन्। त्यसैगरी संस्थापनबाट भने सरोज अधिकारीले अध्यक्षका लागि दाबी गरेका छन्। महासचिवका लागि संस्थापनइतरबाट चार जनाको दाबी रहेको छ। जसमा दीलिप पौडेल, नकुल अर्याल, खिला कार्की र रमेश वाग्नलेले दाबी गरेका छन्।
महासचिवमा हालसम्म संस्थापबाट केशव साउदले दाबी गरेका छन्। आइतबार महासचिवमा साउदको उम्मेदवादी रहेको पोस्टर सार्वजनिक भएको छ। संस्थापनबाट सीमित व्यक्तिहरुले टिकटका लागि सरसल्लापछि मात्रै उम्मेदवारहरुका पोस्टरहरु सार्वजनिक भइरहेको सूचना प्राप्त भएको छ। संस्थापनबाटै भिष्मराज ओझालाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार भएको बताइए पनि उनले हालसम्म मुख खोलेका छैनन्।
संस्थापनबाट सचिवमा खगेन्द्र भण्डारी र मेनुका ढुंगानाले दाबी गरेका छन्। शनिबार सुदूरपश्चिमका प्रेस युनियन आवद्ध पत्रकारहरुको भेला भएको थियो। भेलाले सुदूरपश्चिमबाट साझा उम्मेदवारी दिने सहमति भएको र पदाधिकारीमा जबरजस्ती दाबी गर्ने विषयमा छलफल भएको बताइएको छ। हालसम्म सुदूरपश्चिमबाट पदाधिकारी साउद, भण्डारी र ढुंगानाले दाबी गरेका छन्। संस्थापनइतरबाट सचिवमा हालसम्म तिर्थराज बस्नेतले मात्रै दाबी गरेका छन्।
युनियनको महिला उपाध्यक्षका लागि संस्थापनबाट दिलिपा श्री अधिकारी र संस्थापनइतरबाट सलोजा दाहालले दाबी गरेका छन्। लोक कलम




























