बलिउडका चर्चित अभिनेता सलमान खान र उनका पिता सलिमलाई “सिध्दु मुसेवाला” बनाइदिने भन्दै धम्कीपूर्ण पत्र प्राप्त भएको बुझिएको छ । पत्र कसले पठायो त्यो अहिलेसम्म अज्ञात रहेको मुम्बई प्रहरीले जनाएको छ ।



समाचारका अनुसार प्रहरीले यस घटनालाई गम्भीररुपमा लिएको र मुम्बईस्थित बान्द्रा पुलिस स्टेशनमा उजुरी दर्ता गराएर अनुसन्धान शुरु भैसकेको छ । सलमानका पिता सलिमले दिएको उजुरीको आधारमा प्रहरीले तुरुन्तै अज्ञात व्यक्तिविरुद्ध मुद्धा दर्ता गराएर अनुसन्धान शुरु गरेको हो ।
यसअघि नयाँदिल्लीको तिहाड जेलमा रहेका ग्याङ्गस्टर लरेन्स बिस्नोईले सलमानलाई ज्यान मार्ने धम्की दिएका थिए । लरेन्स त्यही व्यक्ति हुन्,जसमाथि पञ्जाबी गायक तथा र्यापर सिध्दु मुसेवालाको हत्या गरेको आरोप लागेको छ ।
अभिनेता सलमानमाथि राजस्थानको जोधपुरमा कालो हरिण शिकार गरेको आरोप छ । कालो हरिणलाई “बिस्नोई समाज”ले पवित्र जनावरको रुपमा मान्ने गर्छ । त्यहिकारण लरेन्सले सलमानलाई धम्की दिएको हुनसक्ने बताइएको थियो ।
अगष्ट २०२० मा हरियाणा प्रहरीले राहुल साँगा नामका व्यक्तिलाई पक्राउ गरेको थियो । उनी लरेन्स बिस्नोई ग्याङ्गका सुटर थिए । प्रहरीको अनुसन्धानका क्रममा उनले आफू लरेन्सले भनेअनुसार सलमानको घरको रेकी गर्न गएको खुलासा गरेका थिए ।
सिध्दु मुसेवालाको हत्यापछि सलमान खानले धम्कीयुक्त चिट्ठी पाउँदा पूरा बलिउडमा हलचल मच्चिएको छ । प्रहरी पनि यो मामिलामा सतर्क छ र यसबारे निकै सुक्ष्म ढङ्गले अनुसन्धान गरेको जनाएको छ । मुम्बई प्रहरीको टिम सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेको छ ।

























