प्रधानमन्त्री देउवाले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ। उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको कुरामा सरकार प्रष्ट रहेको उल्लेख गर्नुभयो। ‘नेपाल सरकार असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ। नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिवद्ध छ’’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट छ।’’



प्रधानमन्त्री देउवाले सीमा सम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा उल्लेखनीय स्थान दिएको प्रष्ट पार्नुभएको छ। प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेज सञ्चालनको तयारी भएको र त्यसका लागि बजेटबाट सम्बोधन गरिनेसमेत प्रष्ट पार्नुभएको छ।
प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुभएसँगै नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।
नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम संशोधनका छ वटा प्रस्ताव पेश भएका थिए । संशोधनका लागि पेश भएका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा सभामुखले गर्नुभएको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री दिनुभएपछि प्रतिनिधिसभा सदस्य हृदयस त्रिपाठी, दुर्गा पौडेल, शेरबहादुर तामाङ, भीम रावल, प्रेम सुवाल र खगराज अधिकारीले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव बैठकले बहुमतले अस्वीकृत गरेको हाे।
त्यस लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सदनमा सरकारको नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत गर्नुभएको थियो । निर्णायार्थ प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम सदनको ध्वनी मतले पारित भएकाे हो ।
प्रतिनिधिसभाको अर्को बैठक आइतबार साँझ ६ बजे बस्नेछ । आइतबार दिउँसो ४ बजे सरकारले बजेट ल्याउने छ । संवैधानिक प्रावधान अनुसार सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्छ ।

























