डडेल्धुरा — डडेल्धुरा भागेश्वर गाउँपालिका अध्यक्षका स्वतन्त्र उम्मेदवार खडक ठकुराठीले घोषणापत्र सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
स्वतन्त्र उम्मेदवार ठकुराठीले ‘हर–हर ठकुराठी, घर–घर ठकुराठी’ चुनावी नारासहित सार्वजनिक गरेको घोषणापत्रमा हेलिकोप्टरबाट बीऊ छर्ने लगायत घोषणा पत्रमा समेटिएका कार्यक्रमले सामाजिक संजालमा भाइरल बनेको हो।
ठकुराठीले घोषणापत्रमा कृषिलाई महत्वपूर्ण प्राथमिकतामा राखी भागेश्वरको खेती योग्य जमिनमा मौसमअनुसार हेलिकोप्टरबाट बीऊ छर्ने, गैरिबगड देखि परशुराम नगरपालिकासम्म महाकाली नदिमा चार वर्ष भित्रमा सुख्खा बन्दरगाह निर्माण गरी नेपाली झण्डा बाहक पानी जहाज चलाइने प्रतिवद्वता जानाएका छन् ।



उनले जनताहरूलाई सुख, समृद्धि र शान्तिको पूर्ण प्रत्याभूति दिलाई आनन्दित जनताहरूलाई ३ सय ६५ दिन नै दशैं मनाउने वातावरण मिलाउने, गाई, भैंसी तथा बाख्राहरूलाईसमेत अस्पतालमा सुत्केरी हुने व्यवस्था गराइने, टप्वाको डाँडादेखि भागेश्वोर मन्दिरसम्म भक्तजनहरूलाई लक्षित गरी केबुलकार निर्माण गरिने तथा बेरोजगार युवालाई भत्ताका साथै सीपमुलक तालिम प्रदान गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।
नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । ठकुराठीको चुनावी चिन्ह पुतली रहेको छ ।


















