काठमाडौं। डडेल्धुरामा नेपाली कांग्रेसको एक पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। विशेषगरि पार्टीको १४ औँ महाधिवेशन देखि नै असन्तुष्ट बनेको कणर् मल्ल पक्षले काँग्रेस विपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो।



आईतबार डडेलधुरामा भएको द्धिपक्षीय बैठकले ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निणर्य गरेको हो। सोही अनुसार भागबण्डा पनि भएको छ । निणर्यमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद र नेपाली काँग्रेस विपीका जिल्ला जिल्ला सभापति तिलक हमालले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार जिल्ला सदरमुुकाम स्थित अमरगढी नगरपालिकामा विपी काँग्रेसबाट नगरप्रमुखमा हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थी चुनाव लड्ने सहमति भएको छ । यस्तै भित्रि मधेषमा पर्ने परशुराम नगरपालिका प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुखमा विपी काँग्रेसका उम्मेदवारलाई दिने सहमति भएको छ।
यस्तै आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेलाई दिइने निणर्य भएको छ। भागेश्वर गाउँपालिकाको अध्यक्ष भने नेकपा एमालेलाई र उपाध्यक्ष विपी काँग्रेसलाई दिइने भएको छ।
अजयमेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र विपी काँग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाको अध्यक्षमा विपी काँग्रेसबाट गोकुल शाही, उपाध्यक्षमा एमालेकी तारा खाती चुनाव लड्ने भएका छन्। उता गन्यापधुरामा विपी काँग्रेसबाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने बन्ने सहमति भएको बुझिएको छ।
मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँड गर्दा अन्यायमा परेका नेताहरुलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिएको थियो। चेतवानी दिँदा दिदै पनि आफ्ना माग सुनुवाई नभएपछि बिद्रोह भएको एक नेता बताउँछन्।
सो पक्षले आफ्ना मागहरुको सुनुवाइ गर्न बैशाख १० गतेसम्मको बटमलाइन दिएको थियो । तर आफुहरुको माग सुनुवाइ नभएको बुझिएको छ।
कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका कणर् बहादुर मल्लले कांग्रेसले आफुहरुका मागहरुको सुनुवाइ नगरेकाले यो निणर्य लिन बाध्य भएको खासखबरलाइ बताए। आफुहरुले माग सम्बोधनका लागि १० गतेसम्मको बटमलाइन दिएको भएपनि कुनै सुनुवाइ नभएपनि विपीमा समावेश भएर एमालेसँग तालमेल भएको उनले बताए।
यता अमरगढी नगरपालिकाका नगर-प्रमुख समेत रहेका एमाले नेता विषेश्वर प्रसाद ओझा (विपीन)ले पनि तालमेलप्रति असन्तुष्टि जनाएका छन्।
आइतबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै ओझाले बिशेषगरि अमरगढी नगरपालिकामा आवश्यकता र औचीत्यको लेखाजोखा नगरि तालमेल गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
समिकरण गरेर जान सकिने भएपनि नगरमा एमाले एक्लै जित्न सक्षम रहेको उनको दावी छ।

























