२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

डडेल्धुरामा कांग्रेसलाई दोहोरो चुनौती : गठबन्धनमा गलफत्ती, एमालेसँग मिल्न सक्छ मल्ल समूह

धनगढी । सत्ता गठबन्धनका सुत्रधार प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामै आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्न निकै कठिन भएको छ । गठवन्धन हुन् सकेन भने कांग्रेसलाई दोहोरो चुनौती छ ।

गठवन्धन दलहरुबीच तालमेलको सम्भावना कम हुनु र कांग्रेस भित्रै एउटा समूहले प्रतिपक्षी एमालेसँग मिलेर बिद्रोह गर्ने सम्भावनाले गर्दा प्रधानमन्त्रीकै गृह जिल्लामा उनको पार्टीले दोहोरो चुनौती खेप्नुपर्ने देखिएको हो ।

२ नगरपालिका र ५ वटा गाउँपालिका भएको डडेल्धुरामा सत्ता गठन्धनबीच तालमेलमा समस्या सवैभन्दा बढी मतदाता रहेको परशुराम नगरपालिकाले गरेको छ । जिल्लाको भित्री मधेशका रुपमा चिनिने यो नगरपालिकामा २८ हजार मतदाता छन् । यो संख्या अरु तीन पालिका भन्दा पनि बढी हो । कांग्रेस र माओवादी दुवैले यो नगरपालिका गुमाउँन चाहँदैनन् ।

गत स्थानीय तह निर्वाचनमा कांग्रेसले ५ सय ४५ मत अन्तरले माओवादीलाई पछाडि छाडदै पालिकाको नेतृत्व गरेको थियो । संघीय र प्रदेश निर्वाचनमा हार,जितको समिकरण परिवर्तन गर्न सक्ने नगरपालिकाका रुपमा दुवै पार्टीको बुझाइले गठबन्धनको गाठो फुक्न सकेन ।

गत निर्वाचनमा कांग्रेसले ७ पालिका मध्ये परशुराम नगरपालिकासहित ४ स्थानमा जितेको थियो । माओवादीले १ र एमालेले सदरमुकामको अमरगढी नगरपालिका तथा नवदुर्गा गाउँपालिका जितेको थियो ।

कांग्रेसले यसपटक दबै नगरपालिकासहित ५ स्थानमा दाबी गरेका छ भने माओवादीले परशुराम नगरपालिकासहित ३ स्थानमा दावी गरेको छ । यसैगरी समाजवादीले पनि दुई स्थान मागेपछि गठवन्धन नगर्ने, मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको छ ।

कांग्रेस एकजुट भए सवै स्थानीय तह जित्ने हैसियत राख्ने भएपनि पार्टी भित्रै समानान्तर दुई गुटकोबीचमा कुरा नमिल्दा कांग्रेस कमजोर देखिएको बुझाई माओवादी र समाजवादीको छ । कांग्रेस त्यो स्वीकार गर्न चाहँदैन, त्यसकारण पनि गठबन्धन हुन नसकेको हो । गत निर्वाचनमा ७ मध्ये हार व्योहोरेका ३ वटै स्थानीय तहमा कांग्रेस ३ सय भन्दा कम मतले पराजित भएको थियो ।

गत निर्वाचनमा पार्टी भित्रकै विवादका कारण कांग्रेसले सदरमुकामको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा थोरै मतले गुमाउन पुगेको थियो । तत्कालिन जिल्ला सभापति कर्ण मल्ल समर्थकहरुले आफ्नो टीमका उम्मेदवारले टिकट नपाएपछि दुवै स्थानीय तहमा एमालेलाई सघाएका कारण कांग्रेसले हार खेपेको थियो ।

यसपटक पनि असन्तुष्ट पक्षले ७ वटै स्थानीय तहमा एमालेसँग तालमेल गरेर चुनाव लड्ने तयारी गरेको छ । यसले पनि गठवन्धनमा सिट बाँडफाँडमा माओवादी र समाजवादीको माग बढेको हो । गठबन्धन हुन नसक्नुमा अर्को प्रमुख कारण कांग्रेसको असन्तुष्ट पक्षमा बिभाजन ल्याएर कांग्रेसको एक्लै निर्वाचन लड्ने चाहना पनि हो ।

एमालेसँग तालमेल गरेर बिद्रोहको तयारी गरेको कांग्रेसको कर्ण मल्ल पक्षमा अन्तिमसम्म बिभाजनको प्रयास गर्ने, नभए गठबन्धनमा जाने कांग्रेसको भित्री योजनाका कारण अहिलेसम्म ठोस उपलब्धि हुन नसकेको हो । यसै बिषयलाई लिएर डडेलधुरा कांग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रवार काठमाडौं पुगेर भेटेका छन् ।

भेटमा प्रधानमन्त्री देउवाले गठबन्धनका बिषयमा केन्द्रिय नेतृत्व तहमै कुरा गर्ने भन्दै नेताहरुलाई जिल्ला पठाएका छन् । माओवादी पनि गठवन्धन गर्न इच्छुक देखिदैन । माओवादीको आँकलनमा परशुराम नगरपालिका र अजयमेरु गाउँपालिकामा सहज जित हासिल गर्न सक्ने छ ।

अजयमेरु गत स्थानीय तहमा माओवादीले जितेको पालिका हो भने परशुराममा कांग्रेससँग ५ सय मतले पराजित भएको थियो । परशुराममा अहिलेका नगर प्रमुख भिमबहादुर साउदबाहेक कांग्रेसको जो सुकै उम्मेदवार भएपनि जित्न सकिने अनुमान माओवादीको छ ।

साउद दोहो-याउने पक्षमा नभएको वुझाई पनि माओवादीको छ । एक नेता भन्छन्, ‘हामिले गुमाउनु पर्ने छैन् । एक्लै लडेपनि गत स्थानीय तह भन्दा दुई सिट वढी जित्ने सम्भावना छ ।’

गठबन्धन नहुने हो भने सवैभन्दा बढी समस्या कांग्रेसलाई हुने भएकाले गठबन्धनमा कांग्रेस लचिलो हुनुपर्ने तर्क माओवादी र समाजवादीको रहेको छ । कांग्रेसले ४, माओवादीले २ र समाजवादीले १ स्थानीय तह लिएर गठबन्धन हुन सक्ने सहज परिस्थिति छ । तर, संख्या भन्दा पनि कुन स्थानीय तह कसले लिने भन्ने मुख्य समस्याले गठबन्धन हुन नसकेको हो । यो सवै दलका नेताहरु स्वीकार गर्छन ।

आइतवार अबेरसम्म कांग्रेस र माओवादीका नेताहरुलाई केन्द्रबाट गठबन्धनको निर्देशन आउने सम्भावना पनि उत्तिकै रहेको छ । माओवादीलाई अजयमेरु गाउँपालिका र समाजवादीलाई आलितला गाउँपालिका छोडेर सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसलाई सघाउने सहमति हुन सक्ने सम्भावना रहेको छ ।

यस बाहेक अरु पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने दुवै पार्टीका केन्द्रीय नेताहरुमा सहमति हुन सक्छ । कांग्रेसका एक नेता भन्छन्, ‘त्यसो भए सबै पालिकामा गठवन्धनले सहज चुनाव जित्न सक्छ ।’

गठवन्धन हुन नसक्दा कांग्रेस र माओवादी दुवैले क्षति व्योहोर्नु पर्ने अवस्था निर्माण भएको शिक्षक हरिश क्षेत्रीले बताए । भन्छन्, ‘परशुराम नगर पालिकामा एमालेको प्रभाव न्यून छ, मुख्य प्रतिस्पर्धी माओवादी र कांग्रेस नै भएपनि यसको असर अरु पालिकामा पर्न सक्छ ।’

गठबन्धन नहुँदा गत स्थानीय निर्वाचनमा माओवादीले जितेको एकमात्र अजयमेरु गाउँपालिका माओवादीले गुमाउन सक्छ भने प्रधानमन्त्रीको गृह पालिका गन्यापधुरा र सदरमुकामको अमगरगढी नगरपालिका कांग्रेसले पुनः गुमाउन सक्ने आँकलन शिक्षक क्षेत्रीको छ ।

उनी भन्छन्, ‘कांग्रेस भित्रको असन्तुष्ट समूहले बिपी कांग्रेसको चुनाव चिन्ह करुवा लिएर एमालेसँग तालमेल ग-यो भने त्यो कांग्रेस र माओवादी दुवैका लागि समस्या हुन सक्छ ।’

कांग्रेसलाई अरु पार्टी भन्दा चुनौती भित्रै वाट बढी छ । कांग्रेसको पछिल्लो अधिवेशनमा क्रियाशील सदस्यता विवाद भएपछि तत्कालिन सभापति कर्ण मल्ल समूह जिल्लादेखि पालिका तहसम्म समानान्तर संगठन चलाइरहेको छ । त्यसले पनि देउवा गृह जिल्लामा संकटमा देखिएका हुन् ।

मल्ल पक्षले बिपी कांग्रेसको चुनाव चिन्हमा एमालेसँग तालमेल गरेर चुनावमा गयो भने अमरगढी नगरपालिका र परशुराम नगरपालिकामा कांग्रेसलाई समस्या उत्पन्न हुनसक्छ । तर, कांग्रेसका नेता, कार्यकर्ता भने पार्टीमा रहेर बिरोध गर्नुभन्दा मल्ल पक्षले चुनावमा गए सहज हुने अनुमान गर्छन ।

गठबन्धन संयन्त्रमा रहेका कांग्रेसका एक सदस्य भन्छन्, ‘मल्ल पक्षले बेग्लै चुनाव लडेमा कांग्रेस कार्यकर्ता पछि लाग्दैनन्, त्यसले कांग्रेसलाई समस्या होइन् सहज हुन्छ ।’

बिभाजनपछि एमाले कमजोर अवस्थामा रहेकाले माओवादी र कांग्रेस दुवैले जित सहज हुन सक्ने जुन आँकलन गरेर गठबन्धन भन्दा एक्लै चुनावमा जाने मनस्थिति वनाएका छन्, यसले समाजवादीलाई भने ठूलो समस्या उत्पन्न भएको छ ।

समाजवादी एक्लै कुनैपनि पालिकामा निर्वाचन जित्न सक्ने स्थितिमा छैन् । अन्तमा एउटा पालिकामा भएपनि समाजवादी गठबन्धनमा सहमत हुनसक्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।