गौरब बिष्ट/कन्चनपुर- कन्चनपुरको शुक्लाफ़ाटा नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रमा तीन करोड भन्दा बढी रकम खर्च गरेको बिबरण सार्वजनिक गरेको छ। जिल्लाको मध्यभागमा रहेको शुक्लाफ़ाटा नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को चैत्र ११ गते बाट हाल सम्मको खर्च बिवरण भन्दै खर्च बिवरण सार्वजनिक गरेको छ।
शुक्लाफ़ाटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐर र शुक्लाफ़ाटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिह थापा द्वारा संयुक्त रुपमा हस्ताक्षरित खर्च बिवरणमा शुक्लाफ़ाटा नगरपालिकाको १२ ओटै वडामा संचालन गरिएका क्य्वारिण्टिनहरुको खर्च बिवरण माग गरि नगरपालिका द्वारा खर्च बिवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरेको खर्च बिबरणमा शुक्लाफ़ाटा नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३ करोड ३३ लाख ६ हजार ६ सय ५५ रुपैया खर्च गरेको छ। खर्च गरेको बिबरणमा भवन बनाउदा तथा पाल खरिद,बिछ्यौना तयारी शिर्षकमा ६३ लाख ६ हजार ८ सय ९९ रुपैया ,व्यक्तिगत सरसफाई जस्तै ब्रश,टुथपेस्ट ,तौलिया ,चप्पल खरिदमा १ लाख १६ हजार ९ सय रुपैया खर्च गरेको छ।
त्यस्तै क्वारिण्टिनमा बस्ने व्यक्तिको खाना,खाजा खर्च शिर्षकमा ५९ लाख ५७ हजार ७ सय ९५ रुपैया खर्च गरेको छ ,भवन बनाउदा तथा पाल खरिद,बिछ्यौना तयारी शिर्षकमा ९ लाख १७ हजार ५ सय १८ रुपैया,क्वारिण्टिनमा बस्ने व्यक्तिको खाना,खाजा खर्च शिर्षकमा ५ लाख ९२ हजार ६ सय ५० खर्च गरेको छ। औषधि शिर्षकमा क्वारिण्टिन र आईसोलेसनमा बस्ने व्यक्तिको उपचारका लागि ट्याब्लेट,क्वाब्सुल र झोल औषधि भन्दै १ लाख १९ हजार ८ सय ३३ रुपैया खर्च गरेको छ। फेरी औषधि जन्य सामाग्री खरिद भन्दै मास्क,ग्लाब्स ,सेनिटाइजर ,पी पी ई तथा सेनिटाइजिङ्ग बस्तु खरिद वाफत रु १६ लाख ९९ हजार २ सय १६ रुपैया बरावरको स्वास्थ्य सामाग्री खरिद गरेको छ।
त्यस्तै,स्वास्थ्य उपकरण शिर्षकमा थर्मलगन,आरडिटि किट,पी सी आर परिक्षणका लागि आवश्यक सामाग्री भन्दै ७ लाख ८५ हजार २ रुपैया खर्च गरेको छ। एम्बुलेन्स संचालन तथा व्यवस्थापन खर्च शिर्षकमा एम्बुलेन्स भाडा तथा इन्धन समेत उल्लेख गरि ४ लाख २३ हजार २ सय १२ रुपैया खर्च गरेको छ। शुक्लाफ़ाटा नगरपालिकाको कार्यालय झलारी कनचन्पुरले राहत वितरण शिर्षकमा १ करोड १० लाख ४६ हजार ७३ रुपैया बरावरको राहत बितरण गरेको खर्च विवरणमा उल्लेख गरेको छ।
त्यस्तै शुक्लाफ़ाटा नगरपालिकाले जोखिम भत्ता शिर्षकमा ४७ लाख ५४ हजार २ सय ४९ रुपैया ४० पैसा खर्च गरेको छ। खर्च शिर्षक मध्य यातायात खर्च भनेर नगरपालिका र क्वारिण्टिन सम्म पुर्याएको वाफत ३१ हजार खर्च देखाउदै ३ करोड ३३ लाख ६ हजार ६ सय ५५ रुपैया खर्च गरेको छ तर माथी उल्लेखित धेरै जसो खर्च शिर्षकहरु दोहोरिएर राखिएका छन् एउटै खर्च शिर्षक लाई २ तीन पटक देखाउदै खर्च बिवरण मिलान गरे जस्तो सहजै देख्न र बुझन सकिन्छ।
नगरपालिकाले करिब ३ करोड ३३ लाख भन्दा बढि रकम खर्च गरेको बिवरण सार्वजनिक गरे पनि सन्तोषजनक अवस्था भने मान्न सकिने अवस्था रहेको छैन। अत्यावस्यक सेवा प्रवाहका रुपमा मानिदै आएको एम्बुलेन्स सेवा प्रवाह लाई त् नगरपालिकाले करिब २ महिना देखि प्रवाह गर्न सकेको छैन तर एम्बुलेन्स संचालन तथा व्यवस्थापन खर्च शिर्षक उल्लेख गर्दै ४ लाख २३ हजार २ सय १२ रुपैया उल्लेख गर्दै खर्च शिर्षकलाई सार्वजनिक गरेको छ।
अर्को तिर राहत बितरणमा करोडौ रुपैया खर्च गरे पनि शुक्लाफ़ाटा नगरपालिकाको बिभिन्न वडा कार्यालयमा तालाबन्दी र घेराउ पनि नगरिएको हैन।