काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका देउवाले १४औं महाधिवेशनबाट निर्वाचित जम्बो कार्यसमितिलाई चलायमान बनाउन चुस्त र सानो कमिटी बनाएका हुन् । विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समितिमा देउवाले ३७ जना नियुक्त गरेका छन् । बाँकी ९ जनालाई पछि मनोनित गर्नेछन् ।
यसपालि केन्द्रीय कार्यसम्पादन समितिमा सुदूरपश्चिमबाट एनपी साउदमात्रै परेका छन् । सुदूरपश्चिमका नेता रमेश लेखक र कानुनमन्त्रीसमेत रहेका दिलेन्द्र बडू भने कार्यसम्पादन समितिमा अटाएनन् । यसबाट सभापति देउवाले सुपमा रमेशभन्दा एनपीलाई अगाडि बढाउन खोजेको देखिन्छ ।
को को परे ?
कार्यसम्पादन समितिमा सभापति शेरबहादुरसहित १३ पदाधिकारीका साथै पूर्वपदाधिकारीलाई समेटिएको छ । पदाधिकारीमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री रहेका छन् । त्यस्तै सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् । केन्द्रीय सदस्यहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना कार्यसम्पादन समितिमा अटाएका छन् । नेपाल पाना




























