काठमाडौँ – गोंगबुको नवज्योती मार्गमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर सुटकेशमा शव फाल्ने आरोपीलाई सोमबार प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याएको छ ।
आफूलाई कल्पना शाही बताउने हत्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्थिन् ।
कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ बताएकी छिन् । प्रहरीसँग उनले हत्या गर्न कसैको सहयोग नलिएको दावी गरेकी छिन् ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले ‘शव व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको खुलेको छ ।’
कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । उनले दावी गरेपनि प्रहरीको अनुसन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ ।
मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।
प्रहरीले गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा रहेको उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ बरामद गरेको छ ।