डडेल्धुरा: नेकपा एमाले डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा. तारा जोशी नेतृतवको सिंगो टीम नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको छ। समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधवार भएको एक कार्यक्रमबीच एमालेका तत्कालीन अध्यक्ष डा.तारा जोशीको सिंगो टीमले नै समाजवादीमा प्रवेश गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हाबी भएको र जनभावना विपरीत गएको बताउँदै आफूहरू समाजवादीमा समाहित भएको बताए। उनले ५१ सदस्यीय जिल्ला समितिका पदाधिकारीसहित दुईतिहाइ सदस्य समाजवादीमा समाहित भएका घोषणा गरे। १४ जना भातृ संगठन प्रमुखको टीम समेत समाजवादीमा समाहित भएको जोशीले बताए ।
सुदूरपश्चिममा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति विपरीत गतिविधि गराउन थालेपछि डडेल्धुरामा नेकपा एमाले विभाजन भएको बताइएको छ। डा.जोशी निर्वाचित जिल्ला अध्यक्ष हुँदाहुँदै ओलीले प्रकाश साउँदलाई अध्यक्ष बनाएका थिए। केन्द्रमा १० बुँदे सहमति भएपछि आफू जिल्ला अध्यक्ष हुनुपर्ने माग गर्दै आएका डा जोशीको सुनुवाइ नभएपछि उनी समाजवादीमा प्रवेश गरेका जनाइएको छ। प्रेस चैतारी नेपाल, अनेमासंघ, युवासंघ लगायतका १४ भातृ संगठनका प्रमुखसहित बहुमत सदस्य समाजवादीमा सामेल भएका छन् ।




























