राष्ट्रसंघको महासभा बैठक चल्दै थियो। विभिन्न राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तन लगायत विश्वका जल्दाबल्दा विषयमा आफ्नो प्रस्तुति दिँदै थिए त्यही बेला बैठक कक्षमा अस्वाभाविक रूपले एउटा पाहुनाको आगमन हुन्छ।
बिनानिम्तो बैठक कक्ष छिरेको त्यो पाहुनालाई देखेर त्यहाँ उपस्थित सबै चकित खान्छन्। कोही डरले कालोनीलो हुन्छन्। कोही त फर्की फर्की पनि हेर्छन्।
त्यो पाहुना ढोकाबाट छिरेर कसैको वास्ता नगरी सरासर अगाडि मञ्चमा पुग्छ र माइकमा आफ्नो कब्जामा जमाउँछ।



ऊ अरू कोही होइन, ६ करोड ६० लाख वर्षअघि नै पृथ्वीबाट लोप भइसकेको भीमकाय जन्तु डायनासोर हो।
राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त अधिराज्यको ग्लास्गोमा बिहीबार सुरू हुने विश्व जलवायु सम्मेलन (कोप–२६) को सन्दर्भमा जारी गरेको भिडिओ हो यो। जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पतिहरू लोप हुने खतरा बढ्दैछ भन्ने सन्देश प्रवाह गर्न युएनडिपीले यो चेतनामूलक भिडिओ तयार पारेको हो।
कोप–२६ को मुखमा सार्वजनिक साढे दुई मिनेटको यो भिडिओले अहिले अन्तर्राष्ट्रिय चर्चा कमाइरहेको छ। यसैबीच युएनडिपी नेपाल नियोगले पनि उक्त भिडिओको नेपाली संस्करण सार्वजनिक गरेको छ जसमा डायनासोरको आवाज वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले दिएका छन्।
उक्त भिडिओमा डायनासोर राष्ट्रसंघीय महासभा बैठकको मञ्चमा पुगेर त्यहाँ उभिएको एक व्यक्तिलाई ‘ठिक छ’ भनेर सोध्छ।
ऊ ‘ठिक छ’ भन्ने भावमा तलमाथि टाउको हल्लाउँछ।
त्यसपछि डायनासोर ‘केही गर्नुपर्छ’ भनेर सोध्छ। त्यो व्यक्ति ‘पर्दैन’ भन्ने भावमा टाउको दायाँबायाँ हल्लाउँछ।
अनि डायनासोर ‘ल त’ भन्दै माइकसामु उभिन जान्छ।
माइकअगाडि गएर ऊ सबभन्दा पहिला आफ्नो घाँटी सफा गर्छ र भन्न थाल्छः
‘सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ, मलाई बताउन दिनुस्, स्वाभाविक रूपमा तपाईंहरूलाई थाहा छ कि लोप हुनु राम्रो कुरा होइन, तर आफैंलाई जानी जानी समाप्त पार्ने?’
‘सात करोड वर्षमा मैले सुनेको सबैभन्दा हास्यास्पद कुरा हो यो। हामीलाई त एउटा भन्ने बाटो छ, हाम्रो विनाशको कारण उल्कापिण्ड थियो तर तपाईंहरूको बहाना चाहिँ के? तपाईंहरू विनाशकारी जलवायु विपत्तितिर जाँदै हुनुहुन्छ। यस्तो अवस्थामा पनि सरकारहरू खर्बौं रुपैयाँ जीवाष्मा इन्धनमाथि अनुदान दिन खर्च गरिराखेका छन्। त्यो पैसाले अरू के के गर्न सकिन्छ भन्ने सोच्नुभएको छ? विश्वमा अहिले पनि चरम गरिबी छ। आफ्नो विनाशका लागि खर्च गर्नुभन्दा गरिबलाई सहयोग गर्नु ठूलो पुण्य कर्मजस्तो लाग्दैन तपाईंलाई?’
डायनासोर अगाडि भन्छ, ‘मलाई एकछिन यथार्थ बोल्न दिनुहोस्। तपाईंलाई अद्वितीय अवसर प्राप्त भएको छ। महामारीको घाउ निको पार्न र अर्थनीति पुनर्निर्माण गर्न मेरो एउटा सुझाव राम्ररी सुुन्नुहोस्। लोप हुने बाटो कदापि नरोज्नुहोस्। बहाना बनाउन छोड्नुहोस्। आफ्नो जातिलाई लोप हुनबाट जोगाउनुहोस्।’
यति भनेर अन्त्यमा त्यो डायनासोर सबैलाई ‘धन्यवाद’ दिन्छ।
उसको मन्तव्य सकिएपछि बैठक कक्ष तालीले गुञ्जिन्छ।
यो भिडिओले जैविक इन्धन प्रयोग निरूत्साहित गर्न आह्वान गरेको छ। पछिल्लो समय संसारका विभिन्न देशले जैविक इन्धनमा ४२३ अर्ब अमेरिकी डलर अनुदान दिइरहेका छन्।
यो जैविक संकटसँग जुध्न गरिब राष्ट्रहरूका लागि आह्वान गरिएको रकमको तुलनामा चार गुणा बढी भएको युएनडिपीले जनाएको छ।

























