डडेल्धुराः डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–५ स्थित सुदुरपश्चिमकै महत्वपूर्ण धार्मिक क्षेत्र पशुरामधाम जोड्ने कटाल–परिगाउँ सडक कालोपत्रे हुन थालेको छ। करिब १५ करोड रुपैयाँ लागतमा कालोपत्रे हुन थालेको सोे सडकको लम्बाइ १० किलोमिटर छ।
यो नेपालको चारधाममध्येको एक हो। परशुराम नगरपालिका– ४ कटालदेखि परशुराम धामसम्मको १० किलोमिटर सडक कालोपत्रे हुन थालेको जनाइएको छ। परशुराम नगरपालिका– ५ परिगाउँ महाकाली नदी किनारमा अवस्थित परशुरामधामसम्म भक्तजनको सहज आवातजावतका लागि कटाल–परिगाउँ सडक कालोपत्रे गर्ने काम सुरु भएको हो।
चालु आर्थिक वर्षभित्रमा कालोपत्रे काम सम्पन्न गर्ने गरी काम बढाइएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए। उनले भने, ‘धार्मिक पर्यटकका साथै रणनीतिक महत्वको उक्त सडकको काम भौतिक पूर्वाधार विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारको करिब १५ करोड रुपैयाँ लागतमा भइरहेको छ।’
जिल्लाको आधा जनसंख्यामा रहेको भित्री मधेस क्षेत्रमा धार्मिक पर्यटकको आगमनमा वृद्धि हुनुका साथै स्थानीय बासीन्दालाई आवतजावतका लागि सहज हुने पशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदले बताए।
अहिले सडकको नाली बनाउने, पर्खाल लगाउनुका साथै सम्याउने काम भइरहेको उनले बताए। सडक कालोपत्रे हुन थालेसँगै सडक छेउमा बजार विस्तार हुन थालेको छ।
सडक कालोपत्रे भएपछि पशुरामधाम आउने धार्मीक पर्यटकको संख्यामा वृद्धि हुनेमा विश्वास लिइएको छ।