धनगढीः सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन आज (शुक्रबार) बाट अन्त्य भएको छ। जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको हो।
सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको पत्र पढेर शुक्रबार राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्। यस अधिवेशनमा १० वटा विधेयक पारित भएको र चार विधेयक प्रमाणीकरण भएको सभामुख थापाले जानकारी दिए। सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित सशक्तीकरणमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छन्।
थापाका अनुसार सभाबाट प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश वातावरण संरक्षण अध्यादेश २०७७ लाई प्रतिस्थापना गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७८÷७९ को विनियोजन विधेयक प्रमाणिकरण भएका छन्।
सुदूरपश्चिम प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश वातावरण संरक्षण अध्यादेश २०७७ लाई प्रतिस्थापना गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७८÷७९ को विनियोजन विधेयक, प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको सभामुख थापाले बताए।




























