डडेल्धुरा — डडेल्धुराको अमरगढी नगरपालिकामै रहेका दलित समुदायका परिवारहरु प्रयाप्त पिउने पानिबाट बञ्चित रहेका छन् ।



अमरगढी नगरपालिका वडा नं २ जोशिना गाउँमा रहेका ३५ दलित घर परिवारले एउटै धाराबाट पानी लिनुपर्ने बाध्यता रहेको स्थानीय नरेशबहादुर सार्कीले बताउनुभयो ।उहाँले भन्नुभयो एउटै धाराबाट ३५ परिवारले पालैपालो गरि पिउने पानी भर्ने गर्छौ पानी भर्ने पालो कुर्दाकुर्दै आधादिन पानी भर्नमै वित्ने गरेको छ ।
चैत्र देखि जेठसम्म धारामा आउने पानीको मुहान सुक्ने भएकोले उक्त समयमा एक घण्टा टाढा मगराउ भन्ने ठाँउबाट खानेपानी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको विन्दु देवी सार्कीले बताउनुभयो ।
हेल्बेटास नेपालको सहयोगमा करिब १२— १३ वर्ष पहिले दलित समुदायमा निर्माण गरिएको उक्त धारा बाहेक हालसम्म कुनै पनि खानेपानीको योजनाहरु गाउँमा नआउदा खानेपानीको थप समस्या हुदै गएको स्थानीय सुरेन्द्र सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो हामीले स्थानीय सरकार निर्माण भएपछि खानेपानीको समस्या समाधानका लागि वडादेखि नगरपालिका सम्म आग्रह गरेका थियौ तर कतैबाट पनि पहल भएन ।
जोशिना गाउका लागि गजरे मुहानबाट खानेपानी ल्याई ट्याँकी सम्म पुर्याएको र वितरण हुन बाकी रहेको छ चाडैँ खानेपानीको समस्या समाधान हुने अमरगढी नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मनोरथ खडायतले बताउनुभयो ।
आईतबजार,जोशिना, कारिगाउँ लगायतका क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधानका लागि २ करोडको लागतमा दहतला खानेपानी योजनाको टेण्डर प्रक्रिया सम्पन्न भै सकेको र चाँडै काम सुरु हुने अमरगढी नगरपालिका नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले बताउनुभयो । उहाँले भन्नुभयो २ करोडको लागतमा निर्माण हुने खानेपानी योजना अन्र्तगत एकघर एकधाराको अवधारणाका साथ लागु हुन्छ ।

























