धनगढी — सुदूरपश्चिम मा आइतबार थप ३ जना प्रदेश सांसदले एमाले छाडेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र पूर्वप्रमुख सचेतक तारा लामा तामाङले आइतबार प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । यससँगै अब एमाले छाडेर एस मा जानेको संख्या १३ जना पुगेको छ ।
पाँच दिनअघि १० जना सांसदले सनाखत गरेका थिए । सुदूरपश्चिम प्रदेशसभामा अब एमालेभन्दा धेरै सांसद एस मा पुगेका छन् । एमालेमा कूल २४ जना सभामुखबाहेक सांसद रहेकोमा १३ सांसदले नेकपा ९एस० रोजेपछि एमालेमा रहने सांसदको संख्या ११ जनामात्रै भएको छ । सभामुख तटस्थ भूमिकामा रहन्छन् ।
यसअघि मन्त्री पूर्णा जोशी र लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सांसदहरु सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारीले सनाखत गरेका थिए । निर्वाचन कार्यालयले सनाखत गर्ने म्याद २२ गतेसम्म तोकेको छ ।




























