धनगढीः नेकपा एमालेमा आएको पार्टी विभाजनसँगै त्यसको बाछिटा प्रदेश राजनीतिमा पनि देखिएका छन्। तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल छुट्टै पार्टी निर्माण गरेर एमालेबाट अलग्गिएपछि प्रदेशको समिकरण र राजनीति प्रभावित बनेको हो।
सुदूरपश्चिममा एमालेका प्रदेश सांसदहरुले एमाले छोडेर माधव नेपालको पार्टीमा लाग्ने बताइरहेका छन्। तर, एमाले सांसद तथा पूर्वमन्त्री पठानसिंह बोहराले भने संसदमा एमाले नै ठुलो दल रहने बताएका छन्। ‘एमाले नै ठुलो दल हो, रहन्छ। अहिले नै को कता जाने भनेर फिक्स भईनसकेकाले एकदुई जना सांसद जादैमा फरक पर्दैन’ दिनेशखबरसँग कुरा गर्दै उनले भने,‘एकआध बाहेक माधवतिर अरु जानुहुन्न होला।’ संसदमा ठुलो दल एमाले नै हुने र एमाले नेतृत्वको सरकार बनाउन लाग्नुपर्ने उनको भनाई छ।



तत्कालीन एमालेमा १७ जना सांसद माधव पक्षमा थिए। भने, ८ जना ओली पक्षमा खुलेका थिए। एमाले विभाजन भएसँगे यो संख्यामा फेरबदल भएको छ। हालसम्म आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र प्रदेशसभा सदस्य अमरबहादुर साउँद र प्रमुख सचेतक दुर्गाकुमारी बिक मात्र एकीकृत समाजवादी पार्टीतिर खुलेका छन्।
प्रदेशमा उनीहरु एमाले नेता भीम रावल पक्षधर मानिन्थे। यता, आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले भने विभाजनलाई साथ दिन नसकिने बताएका छन्।

























