डडेल्धुरा । मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल गरेका अछामका पत्रकार ध्रुव बिसीलाई रेडियो अमरगढीले आर्थिक सहयोग गरेको छ। रेडियोले राष्ट्रिय वाणिज्य बैक, मंगलसेन शाखा अछामको खाता नम्बरमा १० हजार रुपैयाँ सहयोग गरेको हो।
सानो रकमले पनि केहि हदसम्म सहयोग पुगोस् भन्ने हेतुले सो रकम सहयोग गरिएको रेडियोका स्टेशन म्यानेजर लोकेन्द्र ओझाले बताए। उनका अनुसार बिसीलाई रेडियोमा कार्यरत प्रत्येक कर्मचारीबाट १ हजारका दरले जम्मा १० हजार सहयोग गरिएको हो।
बिसीको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उनले सबैसँग सहयोगको अपिल गरेका छन्। नयाँ पत्रिका, हिमालय टेलिभिजनका अछाम संवाददता र रेडियो सोसाइटी अछामका निर्देशक बिसीका दुवै मृगौला बिग्रिएपछि उनको उपचारमा अहिले समस्या भइरहेको छ।
उनको अहिले वीर अस्पताल र भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस हुँदै आएको छ। उनले आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगका लागि सम्पूर्णमा याचना समेत गरेका छन्।
उनले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार, पत्रकारका सबै संघसंगठन, मिडिया हाउस, स्वतन्त्र पत्रकार, सरकारी कार्यालय लगायतलाई सहयोग गरिदिन आग्रह गरेका छन्। उनलाई सहयोग गर्नेले राष्ट्रिय वाणिज्य बैक, मंगलसेन शाखा अछामको खाता नम्बर ४२६०१००००६३४२०१० मा सहयोग रकम जम्मा गर्न सक्नेछन्।