धनगढी,७ भदौ । सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम १ अर्ब २३ करोड रुपैयाँ बढी पुगेको छ । २६ अर्ब ७७ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण हुँदा ५७ करोड ५१ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।



आर्थिक वर्ष २०७६/७७ सम्म प्रदेशको बेरुजु रकम ८८ करोड ८५ लाख १८ हजार रहेकामा गएको आर्थिक वर्षमा ५७ करोड ५१ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको हो । प्रदेशको कुल बेरुजुमध्ये ३६ करोड ६६ लाख ७१ हजार रुपैयाँ पेस्की बेरुजु रहेको छ भने पेस्कीबाहेक ४३ करोड १० लाख रुपैयाँ बेरुजु छ । पेस्कीबाहेक प्रदेशको बेरुजु १.६१ प्रतिशत हुँदा प्रदेशको कुल बेरुजु २.१५ प्रतिशत छ ।
प्रदेशमा गत वर्ष ८८ करोड ८५ लाख १८ हजार रुपैयाँको सम्परीक्षण गरिएको र ६५ करोड ५१ लाख ५३ हजार रुपैयाँको सम्परीक्षण गर्न बाँकी रहेको महालेखाको प्रतिवेदनमा छ ।प्रदेशगत हिसाबले धेरै बेरुजु हुने प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश पाँचौ नम्बरमा रहेको छ ।
सबैभन्दा बढी प्रदेश २ मा ४.४३ प्रतिशत बेरुजु देखिएको छ भने सबैभन्दा कम बागमती प्रदेशको १.२८ प्रतिशत छ । गण्डकीको १.४९ प्रतिशत लुम्बिनिमा २.८४ प्रतिशत बेरुजु देखिएको छ भने प्रदेश १ को २.६३ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

























